स्वयम्भूमा बुद्ध जयन्तीकाे चहलपहल (तस्बिरहरू)
काठमाडौँ– वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती आज परेको छ । गाैतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा अर्पण गर्ने गरेका छन् ।
गौतम बुद्धको २५६६औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइँदै छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । बुद्धजयन्ती मनाउन बिहानैदेखि स्वयम्भूमा सयाैँ भक्तजन पुगेका छन् ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६६ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा राजा शुद्धोधन र रानी मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजुकुमार सिद्धार्थ गौतमका रुपमा रहेका उनी मानिसले दुःख देखेर चिन्तित बने र त्यसको कारणको खाेजीका लागि २९ वर्षको उमेरमा दरबार छोडेर निस्किएका थिए ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बाेधगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि गरी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेएका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरेका थिए ।
विश्वजगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुपधारण गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:४२
प्रतिक्रिया दिनुहोस्