प्रधानमन्त्री देउवाद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बौद्व सम्मेलन केन्द्रको उद्घाटन
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गरेका छन् ।
सोमबार बिहान आयोजित छुट्टा छुट्टै समारोहका बीच प्रधानमन्त्री देउवाले देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र ध्यान केन्द्रको उद्घाटन गरेका हुन् । गौतम बुद्ध विमानस्थलबाट आजैदेखि अन्तर्राष्ट्रिय उडानसमेत सुरु भएको छ । जजिरा एयरको जहाजले आज बिहान पहिलो उडान गरेको छ । कुवेतबाट ५० यात्रु बोकेर आएको जजिरा एयरको एयरबस ए ३२० बिहान ७ बजेर ९ मिनेटमा भैरहवामा अवतरण भएको थियो ।
यस्तै आजै बिहान नेपाल एयरलाइन्सको ए ३२० एयरबसले पनि ९० जना यात्रु लिएर भैरहवा पुगेको थियो । नेपाल एयरलाइन्सको जहाज बिहान ६ बजेर २५ मिनेटमा अवतरण गरेको थियो ।
यस्तै प्रधानमन्त्री देउवाले उद्घाटन गरेको पाँच हजार जना अट्ने क्षमताको सभा हल बनेपछि भैरहवामा हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ ।
भैरहवामा प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्व जयन्ती समारोह हुँदै आएको थियो । यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो ।
यसवर्षको बुद्व जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । समारोहका लागि अहिले हल सिंगारेर चिटिक्क पारिएको छ ।
दुवै मुलुकका प्रधानमन्त्री सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्