सामाजिक सञ्जालमा चुनाव, युरोप सपना र ‘हाई ! हाई’ बालेन साह
काठमाडौं- सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा जापान बस्ने मेरा एक अनन्य मित्रले बालेनले जितेको हेर्न मन छ भनेर स्टाटस लेखिन् ।
उनी जापान बसेको लगभग एक दशक बढी भईसकेको छ । उनी मताधिकार योग्य भएपछि नेपालमा कुनै मतदानमा सहभागी भएको मलाई थाहा छैन् । तर उनी नै देश परिवर्तन हुनुपर्छ, युवा आउनु पर्छ भनेर चिच्चाइरहेको देख्छु ।
अन्य देशमा रहेका मेरा साथीहरुको अवस्था पनि उस्तै पाउँछु म । परिवर्तन चाहने तर परिवर्तनको संवाहकलाई साथ नदेखिने जमात हामीकहाँ ठूलो छ । तर यो जमातको साथ केवल सामाजिक सञ्जालमा मात्र देखिन्छ । नेपाल जस्तो साक्षरता भएको तर चेताना कम भएको देशमा केही थान युवाले सामाजिक सञ्जालमा ट्रेण्डिड वा भाइरल बनाएर अथवा सडकमा उफ्रेर मात्र केही हुनेवाला छैन र हुँदैन पनि । उनीहरुले एउटा क्रेज खडा गरिदिने मात्र हुन् ।
विगतको चुनावमा पनि निकै युवापुस्ताका अनुहार नदेखेको होइन । युवा प्रतिनिधि साँच्चीकै युवा नै हुन् भन्ने चाहना मेरो पनि हो । को कुन पार्टीबाट आयो भन्ने कुराले कुनै फरक पर्दैन, मात्र देशलाई अगाडि लैजाने युवाको सपना र मर्म बुझ्ने हुनुपर्छ । यस देशमा युवाहरुका सम्वोधन गरिनुपर्ने अनेक मुद्दाहरु छन् ।
हरेक वर्ष देशको कुल जनसंख्याको १४.५० प्रतिशत जनता विदेशमा काम गरिरहेकाछन् । मुख्यतया मलेसिया, गल्फ को-अपरेशन काउन्सिलका ६ वटा देश र भारतमा यी युवाशक्ति पलायन भइरहेका छन् । देश समृद्धिको बाटोमा जाओस्, देशमा नै रोजगारी पाइयोस् भन्ने उनीहरु सपना छ । देश परिवर्तन होस् भनेर आफ्नै खर्चमा कति भारतमा रहेका नेपालीहरु आफ्ना जनप्रतिनिधि चुन्न दुःख सास्ती खेप्दै नेपाल फर्किए । रोजीरोटीका लागि काठमाडौं रहेकाहरु पनि गाउँ गए ।
तर जो जापान, युरोप, अमेरिकीलगायतका मुलुकमा बस्छन् उनीहरु केवल नयाँ पुस्ता चाहियो भनेर सामाजिक सञ्जालमा चिच्चाइरहेका छन् । तर यो बाहेक उनीहरुले सिन्को भाँचेनन् । जो देश परिवर्तन हुनुपर्छ भनेर चर्को स्वरमा सामाजिक सञ्जालमा उफ्रँदैछन् उनीहरुले नै नेपाली नागरिकता त्यागिसकेका छन् । विदेशी नागरिक भइसकेका छन् । ठीक छ, जन्मभूमिको माया हुनु राम्रै हो तर सामाजिक सञ्जालमा मात्र परिवर्तन खोजेर पाइँदैन । यसका लागि त मुलबाटोमै निस्किनु पर्छ, यात्रामा सरिक हुनुपर्छ ।
काठमाडौंका मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहको समर्थनमा जो सभागृह अगाडि देखिइरहेका छन् । उनीहरुमध्ये धेरै काठमाडौंका भोटर होइनन् । तर उनीहरुको समर्थन जायज नै छ । देशको संघीय राजधानी हुनु र शिक्षा, स्वास्थ्यको सुविधा र रोजगारीको केहि अवसरका कारण ७७ जिल्लाका मानिस काठमाडौंमा हुनु अस्वभाविक होइन ।
छोरा वा छोरी खाडी मुलुकमा छन् भन्दा यहाँ बुवा-आमा नाक खुम्च्याउँछन् तर हाम्रो देश तिनै खाडीमा पसिना चुहाउनेहरुको परिश्रमले चलेको छ । उता युरोप, अमेरिका, जापान अष्ट्रेलिया जाने अधिकांशहरु देश फर्कने सम्भावना कम बनाउँदै बरु यहाँको सम्पति पनि बेचेर उता स्थायी बसोबासको सपना र योजना बुनिरहेका छन् ।
ती युवाहरु नेपाल फर्कने र आएर बालेन जस्ता युवाहरुलाई मत दिने हो भने नेपालका गाउँठाउँले मुहार फेथ्र्यो पनि होला । तर बिदेशमा बसेर उतै ‘सेटल’ हुने सपना देख्ने र योजना बुन्नेहरुले ‘भोट फर बालेन’ भन्दै लेखेर फेसबुकमा शेयर गर्दैमा देशभक्त भइन्नँ । मेरो युरोपियन दिदीले फोन गरेर बाबु बालेनलाई जिताउनै पर्छ हौ भन्नुभयो ।
म अचम्ममा परें, मलाई अलिकति पनि रिस उठ्यो । देशलाई छाडेर बिदेशमा भासिने अनि फर्केर आइ नेपालमा बस्न सक्दिनँ भन्नेहरुलाई नेपालको चुनावमा कसले जित्नु पर्छ, कसले हार्नुपर्छ किन यतिका चासो होला ? चुनावमा मत दिने र ट्रेन्डलाई विचार्दा हामी नै दुईथरी छौं । समर्थन गर्न सबैले पाउनु पर्दछ तर उम्मेदवारले साँचो समर्थन दिने र उकास्नेमा फरक छुट्याउन जरुरी छ ।
युरोपमा बस्ने दिदीले नेपाललाई ‘सिस्टम नभएको देश’ भन्छिन् । शायद बालेनले बिकास गरे नेपाल फर्कदा काठमाडौका सफा बाटोहरुमा सेल्फी भए पनि लिउँला भन्ने दिदीको आशा होला । तर दिदीले देशलाई धेरै पहिले नै लत्कारी सकेकी छिन् । पछिल्लो चुनावमा रञ्जु दर्शनाको पनि एउटा फरक क्रेज थियो । क्रेज एकापटि अनि मत परिणाम अर्कोपटि । अन्ततः चुनावमा युवा रञ्जुले हारिन् । अहिले आएर बैकल्पिक नेतृत्वको पैरवी गरेकी रञ्जुले नारी भएको कारण सिर्जना सिंहलाई समर्थन गरेकी छिन् ।
युवा शक्ति भन्दा समान लैगिंक पहिचानलाई रञ्जुले माथि राखिन्, तर यो उनको निजी बिचार हो । तर हिजोको चुनावमा रञ्जुलाई युवा नेत्रृका हिसाबले जनताले दिएको मतप्रति उनी जवाफदेही हुनुपर्ने थियो । चुनावमा एक रुपमा देखिने अनि त्यसबेला बनाएको छवि चुनावपछि पुरै बदलिने । युवा नेतृत्वको यो स्वरुप चाँही गज्जब लाग्छ मलाई । अहिले बालेनले चुनावको प्रारम्भिक मत परिणाममा जुन अग्रता लिएका छन्, त्यो रञ्जुको पालामा युवाले देखाएको आशाको निरन्तरता हो ।
अहिलेसम्म काठमाडौंको ३२ वडामध्ये ५ वडाको मतगणना जारी रहेको अवस्थामा बालेनले पाएको मत उत्साहजनक छ । दलको विरासतभन्दा मानिसले परिवर्तन खोजीरहेको उनले पाएको पछिल्लो मत परिणाम एक प्रमाण पनि हो । एक जना युरोपियन साथी यहाँ आँउदा धेरैले युरोप जान के गर्नुपर्छ, कसरी जाने भनेर सोधेछन् ।
नेपालीहरुको युरोप मोह देखेर होला उनले मलाई यदि १० दिन सेन्जेन भिसा खुकुलो गरिदियो भने कति नेपाली बाँकी रहलान भनेंर सोधेको याद आउँछ । मसँग उत्तर थिएन, लाज मात्र थियो । बालेन तिमीले यस्ता समस्याहरुलाई सम्वोधन गर्न सक्नु पर्छ, तिमीले जित्यौ भने आफ्नो घोषणा पुरा गर अनि हार्यौं भने पनि बैकल्पिक नेतृत्व र युवा नेतृत्वप्रति सदैव जवाफदेही बन्नु । तिमी छौ र त यहाँ युवाप्रतिको बिश्वास जीवित छ ।