नयाँ बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेका छन् ।
बुधबार शुरु भएको संसद्को बजेट अधिवेशनको पहिलो दिन अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन नबढ्नु र आयात बढ्दै जानु अर्थतन्त्रको लागि चुनौती रहेकाले आयातलाई प्रतिस्थापन गर्दै आत्मनिर्भर बनाउँदै लैजाने योजनासहितको नयाँ नीति तथा कार्यक्रम तय गर्ने बताएका हुन् ।
सघीय लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउने, राष्ट्रिय अर्थतन्त्र, समाजवाद उन्मुख आधार, सार्वजनिक क्षेत्रमा लगानी वृद्धि गर्ने, सन्तुलित आर्थिक विकासको लागि बजेट विनियोजन गरिने उनले उल्लेख गरे ।
ग्रामीण क्षेत्रको विकासको लागि, कृषि र पूर्वाधारमा लगानी केन्द्रित गरिनुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीति ल्याउने अर्थमन्त्री शर्माको भनाइ छ । अत्यावश्यक वस्तु नेपालमै उत्पादन गर्ने वातावरण बनाउने, अनुत्पादक क्षेत्रलाई निरुत्साहित गर्ने, करको दायरा विस्तार गरिनेलगायत पनि अर्थमन्त्री शर्माले उल्लेख गरे का छन् ।
सरकारले उत्पादन वृद्धि र पूर्वाधार निर्माण, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिने, औद्योगिक ग्राम बनाउने, पूर्वाधार विकासको लागि राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय रणनीतिक आयोजनालाई समयमै निर्माण गरिसक्ने लगायतलाई प्राथमिकतामा राखेको छ ।
ऊर्जा क्षेत्रमा ठूला आयोजनाको निर्माणका लागि स्रोत जुटाउने, प्रसारण लाइन निर्माणमा प्राथमिकता दिने, सार्वजनिक विद्यालयको पूर्वाधार र प्रविधिमा लगानी गर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित बनाउने लगायत सरकारका प्राथमिकता हुने अर्थमन्त्री शर्माले बताएका छन्।
एमालेले ९ महिनादेखिको अवरोध हटाएपछि संसद् बैठक सुचारू भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:०७
प्रतिक्रिया दिनुहोस्