मोटरसाइकल चोरी गरी किनबेच गर्ने सात जना पक्राउ
मोरङ– विराटनगर महानगरपालिका– ४ स्थित नोवेल अस्पताल अगाडि र सोही महानगरपालिका–५ तोदी भवन लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी किनबेच गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका–१ बुधनगर बस्ने २० वर्षीय हरिओम मण्डल, सोही ठाउँ बस्ने २० वर्षीय पन्नलाल राजबंशी, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, विराटनगर महानगरपालिका–४ कन्चनबारी बस्ने २२ वर्षीय प्रकाश राजबंशी, कटहरी गाउँपालिका(२ बस्ने २४ वर्षीय मनिष बस्नेत, धनकुटा साँगुरीगढी गाउँपालिका९ बस्ने ३२ वर्षीय थाम बहादुर राई र सोही ठाउँ बस्ने ३५ वर्षीय मनकाजी राई रहेका छन् ।
उनीहरुमध्ये हरिओम, पन्नलाल, प्रकाश, मनिष र किशोर चोरी कार्यमा तथा थाम बहादुर र मनकाजी किनबेच तथा व्यवस्थापन कार्यमा संलग्न रहेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुबाट प्रदेश १–०२–०४६ प ६४०१, प्रदेश १–०२–०४७ प ३९२४, को १३ प ८२७५, बीआर ३८ डी ४५०४, प्रदेश १–०२–०४४ प २५७, को ८ प ६७५ र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३३
प्रतिक्रिया दिनुहोस्