काठमाडौँमा जताततै फोहरको डंगुर, उठाइ सक्न अझै एक हप्ता लाग्ने
काठमाडौँ-काठमाडौँका ठाउँठाउँमा फोहरको थुप्रो बढ्दै गएको छ । महानगरपालिकामा चुनावको मतगणनाको चर्चा सर्वत्र हुँदा एक हप्तादेखि नउठेको फोहरका कारण महानगर डुङडुङती गन्हाउन थालेको छ ।
सडकमा फोहोर थुप्रिँदै जाँदा यसले महानगरलाई कुरूप मात्र बनाएको छैन, सरुवा रोगको सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ।
काठमाडौँ महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या भएको छ ।
यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फर स्टेसनमा जम्मा गरिएको फोहरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहर राख्न नदिएपछि काठमाडौँका प्रत्येक चोकमा फोहरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ ।
काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा सङ्कलन भएको फोहर टेकुको ट्रान्सफर स्टेसनमा राख्ने र त्यहाँबाट क्रमिकरुपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ । लामो समयसम्म टेकुमा फोहर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन् ।
यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो । यसअघि पासाङल्हामु राजमार्ग अन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।
उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्रै ४२ दिन फोहरको व्यवस्थापन हुन सकेको थिएन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ ।
महानगरपालिकाको वातवरण विभाग प्रमुख सरिता राईले हिजोबाट अवरोध केही कम भएकाले फोहर ब्यवस्थापन सुचारु भएको तर सबै फोहर उठाइसक्न अझै कम्तिमा एक हप्ता लाग्ने बताइन् ।क्यानडा नेपालसँग प्रमुख राईले भनिन्– ‘अब कुनै पनि समस्या नआएको खण्डमा अबको एक हप्ता भित्रमा काठमाडौँको फोहोर व्यवस्थापन भइसक्छ’।
सिसडोलका बासिन्दाले ८ बर्षदेखी सडक कालोपत्र गर्नुपर्ने माग गर्दै फोहर ब्यवस्थापन गर्न अवरोध गर्दै आएपनि उनीहरुको माग सुनुवाइ भएको छैन । उनिहरुले गत फागुन १ बाट पहिलो चरणको चैत १६ बाट २५ सम्म दोस्रो चरणको र बैशाखको ११ गतेबाट तेस्रो चरणको आन्दोलन गरिरहेका छन् ।
तस्वीरहरू– लक्ष्मी धिमाल
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:५७
प्रतिक्रिया दिनुहोस्