चितवनको खैरहनीमा सत्ता गठबन्धनले भत्कायो एमालेको गढ
काठमाडौं - चितवनको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया विजयी भएका छन् । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खनियाले ८५० मतान्तरले एमालेका लालमणि चौधरीलाई पराजित गरेका हुन् ।
खनियाले १४ हजार ५४५ मत ल्याएका छन् भने पराजित भएका चौधरीले १३ हजार ६९५ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी कविता उप्रेती विजयी भएकी छिन् । उनी चार हजार ४९४ मतान्तरले विजयी भएकी हुन् ।
उप्रेतीले १४ हजार १६४ मत पाउँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले ९ हजार ६७० मत पाएकी हुन् । यस्तै यस नगरपालिकामा गठबन्धनले छ वडा र एमालेले सात वडामा जितेको छ ।
यससँगै गठबन्धनले पूर्वी चितवन खैरहनीमा एमालेको गढ नै भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा कांग्रेसले जितेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१५
प्रतिक्रिया दिनुहोस्