कांग्रेसको विजय र्यालीमा एमाले कार्यकर्ताको आक्रमण
वीरगञ्ज - वीरगञ्जमा नेपाली कांग्रेसको विजय र्यालीमा आक्रमण गरिँदा ६ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका-२७ को वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएपछि शुक्रबार निकालिएको जुलुसमा नेकपा (एमाले) को समूहले आक्रमण गरेको कांग्रेसको आरोप छ ।
आक्रमणमा परी नेमा रेशा, मुन्नी खातुन, मलिक नुनिया, मोहमद नुराइन, मोहमद मियाँ र जाहिर हवारी घाइते भएका हुन् । उनीहरूमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामान्य घाइते भएका चार जना घर फर्किसकेका छन् । मियाँ र आयसा खातुनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
वडा-२७ को वडाध्यक्षमा एक हजार ५१६ मतसहित कांग्रेसका हृदयनारायणप्रसाद कुर्मी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार यादवले १,११६ मत पाएका थिए ।
०७४ को निर्वाचनमा यादव वडाध्यक्षमा निर्वाचित भएका थिए । आफूलाई भोट नहाल्नेहरू कांग्रेसको र्यालीमा गएको भन्दै उनले आफै उपस्थित भएर आक्रमणको निर्देशन दिएको आरोप छ ।