पेट्रोलियमको मूल्य अझै बढ्न सक्ने, सरकारले कर छुट दिए मूल्य घट्ने
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियमको मूल्य अझै बढ्न सक्ने बताएको छ । क्यानडा नेपालसँग कुरा गर्दै आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगमको घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु परेको र मूल्य अझै बढ्न सक्ने बताएका हुन् ।
‘आयल निगमलाई १५ दिनमा ३ अर्ब रुपैयाँ घाटा छ’ प्रवक्ता उपाध्यायले भने, ‘पेट्रोलमा १४ रुपैयाँ ६४ पैसा घाटा छ । खाना बनाउने एलपी ग्यासमा ८ सय ७९ रुपैयाँ ७५ पैसा घाटा छ । डिजेलमा २६ रुपैयाँ ८२ पैसा घाटा छ । मासिक करीब ६ अर्ब ७० करोड जति घाटा छ । त्यसकारण पनि अझै मूल्य वृद्धि हुने सम्भावना बढी छ ।’
निगमले तेलको आपुर्ति गर्न नसक्ने अवस्थामा पुगेपछि मूल्य समायोज गरेको उपाध्यायको दाबी छ । उनले भने, ‘विगत १ वर्षदेखि निगम निरन्तर घाटामा छ । लामो समयसम्म हामीले दुई रुपैयाँ, ३ रुपैयाँका दरले मूल्य समायोजन गर्यौँ । अन्तराष्ट्रिय बजार विस्तारै ओरालो लाग्ला र हामीलाई पनि घाटा पूर्ति गर्न सजिलो होला भन्ने लागेको थियो । तर, भएन । निगम तेलको आपूर्ति गर्न सक्ने अवस्थामा पनि नपुगेपछि बाध्य भएर मूल्य समायोजन गर्न पुगेको हो ।’
सर्वसाधारणको हितलाई ध्यानमा राखेर एकैपटक मूल्य समायोजन नगरेको प्रवक्ता उपाध्यायको भनाइ छ । ‘लामो समय मूल्य समायोजन नगर्दा निगमको कोषहरुमा भएको सबै रकम सकिने अवस्था सृजना भयो । आव ०७६/७७ मा कमाएको मुनाफा पनि सकिने अवस्था आयो । सरकारको कोषमा रहेको पैसा पनि सकियो । सबैतिरको कोषहरु सकिन थालेपछि हामीले नसकिने स्थिति आयो र यो निणर्यमा पुगेका हौँ ।’
अहिले महिनामा १० अर्ब रुपैयाँ घाटा हुने अवस्था आएको प्रवक्ता उपाध्यायले जानकारी दिए । निगम एक्लै अगाडि बढ्न सक्ने अवस्था नभएपछि हात उठाएको उनको भनाइ छ । उनले भने, ‘हामीले पछिल्लो पटक प्रकासित गरेका विज्ञप्तिमा पनि हेर्नु भयो भने यहाँहरुले थाहा पाउनु हुन्छ । हामी एक्लै केही गर्न सक्दैनौँ । कि त नेपाल सरकारले निगमलाई रकम उपलब्ध गराउनु पर्यो । अथवा मूल्य समायोजना हुनु पर्यो । त्यो भएन भने ऋणको व्यवस्था गरिदिनु पर्यो । तर, कुनै पनि विषयमा सरकार तयार नभएपछि यस्तो बाध्यात्मक निणर्य गर्नुपरेको हो ।’
भारतीय आयल निगम आईओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ मूल्य घटाएको छ । भारत सरकारले सेन्ट्रल ट्याक्स घटाएको कारण भारतमा पेट्रोलीयमको मूल्य कम पर्न गएको देखिएपनि आईओसीले मूल्य नघटाएको प्रवक्ता उपाध्यायले बताए । नेपालमा भने सरकारले थप गरेको प्रतिलिटर १५ रुपैयाँ कर घटाउन अनुरोध गरे पनि सरकारले नघटाएको उनले बताए ।
मे महिनामा आईओसीलाई ४२ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा, हालसम्म २० अर्ब ६० करोड रुपैयाँ मात्र भुक्तानी गर्न सकेको प्रवक्ता उपाध्यायले बताए । ‘निगमको आफ्नो सम्पत्ति बैंकमा धितो राख्दा पनि ६ अर्ब भन्दा धेरै ऋण नपाइने अवस्था सिर्जना भयो।’ उनले भने, ‘अर्थ मन्त्रालयबाट पनि मूल्य समाजयोज गरेर नै अगाडि बढ्न पटकपटक औपचारिक तथा अनौपचारिक सुझाव आइरहेकाले पनि हामी सर्वसाधारणको मर्का भन्दा ठूलो बाध्यतामा पर्यौँ र मूल्य समायाजन तर्फ गयौँ ।’
पछिल्लो पटक आइतबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोलीयमको मूल्य वृद्धि भएको छ । अब खाना पकाउने ग्यास प्रति सिलिण्डर १८ सय रुपैयाँ पुगकोे छ भने पेट्रोल १८० रुपैयाँ पुगको छ । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६३ रुपैयाँ र हवाई इन्धन आन्तरिकको मूल्य १ सय ६६ रुपैया प्रतिलिटर पुगेको निगमले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३७
प्रतिक्रिया दिनुहोस्