बीवाईडी गाडीको ब्राण्ड एम्बेसडरमा वरिष्ठ कलाकार हरिवंश आचार्य नियुक्त
काठमाडौँ– नेपालका वरिष्ठ कलाकार हरिवंश आचार्य इलेक्ट्रिक गाडी बीवाईडीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् ।
नेपालमा बीवाइडीको आधिकारिक वितरक कम्पनी साइमेक्स इंकको ब्राण्ड एम्बेसडरमा हरिवंश आचार्य नियुक्त गरेको हो । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र कलाकार आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उनले आफू ब्राण्ड एम्बेसडर नियुक्त भएसँगै खुशी व्यक्त गरे । उनले विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग ब्यापक बन्दै गएको अवस्था उल्लेख गर्दै नेपालमा पनि यसलाई बढावा दिइनुपर्नेमा जोड दिए । उनले भने,“पृथ्वीलाई नै प्रदुषण चुनौती बन्दै गएको समयमा मैले बीवाइडीसँग सहकार्य गर्ने मौका पाएकोमा अत्यन्त खुशी छु । मेरो सहकार्यले प्रदुषणरहित गाडीको संख्या सडकमा बढ्न सकोस् ।”
नेपाली कलाकारिताको क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ताको रुपमा आफ्नो छवि निर्माण गर्न सफल भएका छन् । आचार्यको सहकार्यमा बीवाइडीले आफ्नो ब्राण्ड नेपालमा प्रचारप्रसार गर्नेछ । कम्पनीले आचार्यसँगको सहकार्यले नेपालमा विद्युतीय क्रान्ति नै ल्याउने उद्देश्य लिएको विश्वास दिलाएको छ ।
साइमेक्स नेपालको इलेक्ट्रिक मोबिलिटीमा पायोनियर कम्पनी हो । कम्पनीले नेपालमै पहिलो पटक व्यवसायिक चार्जिङ स्टेसन तयार गरेको थियो । साइमेक्स नेपालको सबैभन्दा ठूलो व्यवसायिक चार्जिङ स्टेसन सञ्चालक हो ।
साइमेक्सलाई एशियाली विकास बैंकले ‘लारजेष्ट ईभी कन्ट्रयाक्ट इन नेपाल’ अवार्ड समेत प्रदान गरेको छ । साइमेक्सले नेपाल सरकारका विभिन्न निकायलाई समेत विद्युतीय गाडीहरू प्रदान गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३७
प्रतिक्रिया दिनुहोस्