त्रियुगा नगरपालिकाको मत गणना आजदेखि सुरु हुँदै
गाईघाट– वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आज (मंगलबार) देखि सुरु हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ को जनप्रेमि आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षादका कारण कर्मचारीहरुबाट मतदान कार्य सम्पन्न गराउन ढिलाई हुँदा सामान्य विवाद भएपछि मतगणना कार्य रोकिँदै आएको थियो ।
सोही क्रममा मुख्यनिर्वाचन अधिकृत दिपक खनाललेसमेत स्वास्थ्यका कारण मुख्य निर्वाचन अधिकृतबाट राजीनामा दिएपछि थप समस्या उत्पन्न भएकोमा त्यसको निराकरणका लागि निर्वाचन आयोगले अर्का न्यायधीश उत्तम सिलवाललाई उदयपुरको मुख्य निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचनका बाँकी कामहरु अगाडि बढाएको हो । तर केही राजनीतिक दलहरुले वडा नं १२ मा पुन: मतदान हुनुपर्ने जिकिर गर्नथालेपछि मत गणनाको काम सुरु हुन सकेको थिएन ।
अपरान्ह करिब साढे ४ बजेसम्म भएको मतदानमा करिब ५४ प्रतिशत मत खसेको तर गणना गर्न असहमत जनाएका दलहरुले अनेक विवाद झिकेपछि आयोगबाट आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आएको टोलीले मतदानस्थलसम्मको घटना विवरणको अध्ययन, अनुसन्धान गरी प्रतिवेदन दिएपछि निर्वाचन आयोगले सोमबार तत्काल मत गणना सुरु गर्ने निर्णय गरेको हो ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले आजदेखि त्रियुगा नगरपालिकाको मत गणना सुरु गर्न आवश्यक तयारी गरिएको बताए । आयोगको निर्णय आएसँगै अब मत गणना सुरु गर्न बाटो खुलेको उनले बताए ।