Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन्चरेडाँडामा फोहोर बिसर्जन सुरु, माग सम्बोधन नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– स्थानीयको अवरोधकाबीच धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गर्न थालिएको छ ।

निर्माणाधिन बन्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन सुरु भएको पहिलोपटक हो ।

आज बिहान ९० वटा गाडीले बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरीता राईले जानकारी दिइन् ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको समन्वयमा मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएको राईले बताइन् ।

स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा अहिलेकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । आज फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिएका थिए ।

स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गर्न सुरु गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन सकेको थिएन । बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि अब सहज हुने विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:५०
प्रतिक्रिया दिनुहोस्