हप्तामा दुई दिन बिदा: अन्य क्षेत्रमा हानी, पर्यटनमा फाइदा
काठमाडौँ– कोरोना महामारीका कारण लामो समय थला परेको आन्तरिक पर्यटन क्षेत्र सरकारले हप्तामा दुई दिन बिदा दिन थालेपछि केही तंग्रिने अपेक्षा गरिएको छ ।
अन्य क्षेत्रमा प्रभाव पारेपनि सरकारले हप्तामा दुई दिन दिएको बिदाको कारण पर्यटन क्षेत्रलाई भने फाइदा हुने जानकारहरू बताउँछन्।
सरकारले विशेषतः इन्धनको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। जसका कारण विद्यालय र अन्य केही क्षेत्रमा नकारात्मक प्रभाव परे पनि पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको पर्यटन ब्यवसायी बताउँछन् ।
‘सरकारले पर्यटन क्षेत्रलाई नै भनेर साताको दुई दिन बिदा दिएको होइन तर यसले पर्यटन क्षेत्रलाई फाइदा गरेको छ’ नेपाल ट्राभल एसाेसिएसन अफ ट्राभल्स एन्ड टुर्स एजेन्ट्स (नाटा)का प्रमुख रमेश थापाले भने, ‘साताको दुई दिन बिदा हुँदा सरकारी कर्मचारीहरू पनि आफ्नो परिवार लिएर आन्तरिक पर्यटनमा जान थालेका छन्। जसका कारण पनि आन्तरिक पर्यटन बढेको पाइएको छ।’
पर्यटक क्षेत्रमा बिदा नहुने र २४ घण्टा नै सेवा प्रदान गर्नु पर्ने थापाले बताए। उनले अहिले घेरै कुरा अनलाइनबाटै हुने भएकाले पनि आन्तरिक पर्यटक बढेको बताएका छन्।
‘अहिले हामी आन्तरिक पर्यटकका लागी पूर्व तयारी गरिरहेको छौ’ थापाले भने, ‘लुम्बिनी र काठमाडौंको गोदावरीमा ठूलो हलको निर्माण गरेका छौ जहाँ पर्यटक प्रवर्द्धनका लागी कार्यक्रम गर्न सक्छौ।’
आन्तरिक पर्यटनकाे चुनौतीका रुपमा यातायात रहेकाले १८ घण्टा आन्तरिक पर्यटकको लागि पनि हवाई मार्ग खोल्ने र दुर्गम क्षेत्रमा रात्रिकालीन उडान सुचारु गर्ने पनि थापाले बताए।
हवाई मार्गलाई सुचारु गरे पनि वर्षायाम सुरु हुन थालेकाले सडक यातायातमा समस्या आइरहेको थापाको भनाइ छ। समयमा सडक यातायातमा समस्या आउन सक्छ भन्ने तर्फ पनि सचेत भइरहेको उनले बताए।
कोभिडको मारमा परेको पर्यटन व्यवसायलाई हप्तामा दुई दिन बिदाले केही हदसम्म उकास्न सहयोग गर्ने थापाको भनाइ छ।
आन्तरिक पर्यटकले देशको अर्थतन्त्रमा पनि मदत पुर्याउने उनले बताए। ‘यसले रोजगारीको सिर्जना पनि गर्छ, ’ थापाले भने, ‘राज्यको लागि कर सङ्कलन हुन्छ र अहिले विमानस्थलको सेवा शुल्क २०० बाट ४०० पु¥याइएको छ। यी सबैबाट सरकारको आयमा वृद्धि हुन्छ र सरकारको आय हुनु भनेको नै देशको अर्थतन्त्रमा योगदान पुर्याउनु हो।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:३१
प्रतिक्रिया दिनुहोस्