पल शाह प्रकरण : थुनछेक मुद्दा न्यायाधीशद्वय राजभण्डारी र पुडासैनीको इजलासमा
काठमाडौं - नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा रहेका अभिनेता पूणर्विक्रम शाह (पल शाह) को थुनछेक आदेशको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ । उच्च अदालत पोखरामा बिहीबार थुनछेक प्रयोजनका लागि शाहको मुद्दा पेसीमा चढेको हो ।
एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए । उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त मुद्दा दैनिक पेसी सूचीमा राखेको हो ।
पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ । उक्त मुद्दामा शाहका म्यानेजर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिएको छ । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइ हुनेछ ।
बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको थुनामै पठाउने आदेशविरुद्ध शाहले गत चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । आज उच्च अदालत पोखराले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा थुनछेक प्रयोजनको आदेश दिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:०७
प्रतिक्रिया दिनुहोस्