यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका कर्मचारी निलम्बित
काठमाडौं - यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बित भएका छन् । इन्टर्नसिप गर्न आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिइएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
उनका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ । झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको र यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको डा. ज्ञवालीले जानकारी दिए । यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि झा दुई महिना निलम्बन निलम्बनमा परेका थिए ।