Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैँकः ब्राण्ड व्यवस्थापनमा अब्बल, निक्षेप सङ्कलनमा छलाङ

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– मुक्तिनाथ विकास बैंकले स्थापनाकोे १५ वर्ष पुरा गरेको छ । यो अवधिमा अब्बल ब्राण्ड व्यवस्थापनका साथ निक्षेप सङ्कलनमा उल्लेख्य वृद्धि गर्न सफल भएकाले यो बैंक विकास बैंकहरूमाझ आफ्नो अब्बल उपस्थिति जनाउँदै आएको छ । खासगरी पछिल्लो चार वर्षमा बैंकको प्रगति भने अझै लोभलाग्दो रहेको बैंकले जनाएको छ ।  बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । मुक्तिनाथ, समीक्षा अवधिमा एक अर्ब नाफा गर्ने एक मात्र विकास बैंक बनेको छ ।  बैंकले पछिल्ला चार वर्षमा निक्षेप र लगानीमा सन्तोषजनक उपलब्धि हासिल गरेको छ भने, बैंकका अन्य सूचक पनि उल्लेखनीय प्रगतितर्फ रहेको बैंकले जनाएको छ । बैंकको निक्षेप १ खर्ब हाराहारी पुगेको छ ।मुक्तिनाथले विकास बैंकहरू मात्र नभइ चारवटा वाणिज्य बैंकलाई समेत निक्षेपमा उछिनेको छ । विशेषगरी निक्षेपमा लिएको आक्रामक रणनीति र बजार व्यवस्थापनले वाणिज्य बैंककै हाराहारीमा निक्षेप वृद्धि भएको बैंकले जनाएको छ । निक्षेप र लगानीमा मात्र नभएर बैंकले आफ्नो ब्रान्डको विश्वसनीयताका लागि पनि ध्यान दिएको जनाएको छ । ब्रान्ड व्यवस्थापन र नयाँ बजार प्रवर्द्धनका उपायहरुले बैंकको ब्रान्ड इक्विटी बढेको बैंकको निष्कर्ष छ । बैंकको निक्षेप तथा ब्राण्डको प्रगतिका पछाडि बैंकिङ क्षेत्रमा १२ वर्ष भन्दा बढी समय बिताएका बजारीकरण विभागका विभागीय प्रमुख  बसन्त बक्सीको जोश, नयाँ सोच, उल्लेख्य योगदान र आक्रामक रणनीतिको भूमिका महत्वपूर्ण रहेको बैंकले जनाएको छ । नयाँ प्रविधि र तरिकालाई ब्रान्ड ब्यबस्थापन तथा मार्केटिङमा उपयोग गर्नुपर्छ भन्ने सोच अनुसार नै बैंकको बजारीकरण र ब्राण्ड प्रवर्द्धनमा आफूले काम गरिरहेको उनी बताउँछन् ।  हालसम्म १२ लाखभन्दा बढी ग्राहक रहेका बैंकमा ७० प्रतिशत भन्दा धेरै सक्रिय ग्राहक रहेको बैंकले जनाएको छ । तरलताको समस्या हुँदा पनि बैंकले सन्तोषजनक प्रगति गर्न सक्नुमा महिला ग्राहकले धेरै विश्वास गर्नु मुख्य कारण रहेको बक्सीले जानकारी दिए । ६ लाख २६ हजारभन्दा बढी महिलाका व्यक्तिगत खाता रहेको बैंकमा पुरुषको खाताको संख्या ४ लाख ५१ हजार रहेको छ । त्यस्तै बैंकमा सबैभन्दा बढी ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिको खाता रहेको बक्सीको भनाइ छ ।  मुक्तिनाथ विकास बैंकको यो रफ्तार ल्याउनलाई बैंकले ब्राण्डिङलाई उच्च महत्व दिनुले पनि महत्वपूर्ण भूमिका खेलेको छ । बैंकको ब्राण्डिडका कारण नै नयाँ शाखा विस्तार गर्ने क्रममा हालसम्म बैंकले प्रदेश–१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आफ्ना शाखाहरु पु¥याएको छ भने ती प्रदेशहरूमा ग्राहकको उल्लेखनीय सहभागिता रहेको बक्सीले बताए । बैंकको नाम देशभरी नै प्रख्यात रहेको उनले दाबी गरे ।  बैंकले चार वर्षमा थप  सात लाख नयाँ ग्राहक थप्नु पनि ब्राण्डकै भूमिका रहेको उनी बताउँछन्। समयानुकूल र भरपर्दो सेवाका कारण नै बैंकले वर्षेनी सफलता पाइरहेको बक्सको भनाइ छ। बैंकले कास्कीको एक गाउँबाट सेवा सुरु गरेर शहर पसे पनि गाउँमा अझ बढी सेवा, सुविधा प्रदान गर्न आफूहरुले कुनै कञ्जुस्याई नगरेको उनको दाबी छ। बैंकले कास्की, स्याङ्जा जिल्लामा ठूलो प्रभाव जमाएको छ ।  ग्राहकको सुविधाका लागि प्रत्येक वर्ष एक–दुई वटा नयाँ योजनाहरु ल्याइरहेको बक्सीको भनाइ छ ।  ‘अहिले हाम्रो क्रमिक बचत खातामा ग्राहकको आकर्षण रहेको छ’, बक्सीले भने । ‘यस खातामा ग्राहकले मुद्दति सरह ब्याज पाउने गरेका छन्।’ यस्तै सर्वोकृत तथा उत्कृष्ट खाता पनि सञ्चालनमा ल्याएको बक्सीले बताए।  यद्यपी, बैंकले अधिकांश बचत खातामा मासिक ब्याजदर प्रदान गर्ने गरेको छ । यो सेवा सधै नै निरन्तर हुने बैंकले उनले जानकारी दिए। यस्तै मुक्तिनाथको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क पैसा निकाल्न सकिने बक्सीले बताए। मुलुकमा आर्थिक अभावको समस्या देखाइरहेका बेला पनि मुक्तिनाथ बैंकले राम्रो  वृद्धिदरसहित आफूलाई दौडाइरहेको छ । बैंकले कृषकको खेतबारीमा नै गएर उनीहरुलाई बैंकसँग जोड्ने र बैंकको आधुनिक सेवा सुविधा कसरी उपयोग गर्ने भन्ने विषयमा समेत जानकारी गराउँदै आइरहेको छ। कृषि र कृषकहरुलाई बैंकले प्राथमिकतामा राखेर योजना बनाउने रणनीति अबलम्बन गरेको बक्सीले जानकारी दिए। ‘कृषिलाई सुहाउने खाता र डिजिटल बैंकिंङ सुविधाहरु कृषक समक्ष पु¥याउने लक्ष्य बैंकको छ,’ उनले भने, ‘अहिले पनि बैंकले कृषकको खेतबारीमा नै गएर बैकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका कर्मचारी आफै किसानको घरसम्म पुगेर बैंक खाता खोल्ने लगाउने, कृषि कर्मबाट भएको आम्दानी भविष्यका लागि बचत गराउन लगाउने जस्ता कार्यक्रम गरिरहेको छ।’ योसँगै सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहक वर्गमा बैंकका सेवा सुविधाहरुबारे जानकारी गराउँदै आएको छ । बैंकमा खाता हुनेमध्ये ६० प्रतिशत युवापुस्ता भएका कारण पनि बैंकले सामाजिक सञ्जालमार्फत आफ्नो सेवाबारे जानकारी प्रदान गरिरहेको बक्सीले बताए ।  ७७ मध्ये ५५ जिल्लामा आफ्नो सेवा पु¥याइसकेको मुक्तिनाथ विकास बैंकले अहिलेसम्म १७० शाखा र २ वटा एक्सेक्सन काउण्टर संचालन गरेको जनाएको छ । 
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्