१४ वर्षपछि राजस्थान फाइनलमा
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधिका लागि राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल प्रवेश गर्दै गुजरातसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ । बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।
देबदुत पडीकल ९ रनमा आउट हुँदा शिम्रन हिटमायर २ अविजित रहे । बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो । बैंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । साहबाज अहमेद १२ रनमा अविजित रहे ।
राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३/३ विकेट लिए ।
राजस्थान रोयल्स १४ वर्षपछि आईपीएलको फाइनल पुगेको हो । सन् २००८ मा शेन वार्नको कप्तानीमा राजस्थानले पहिलो पटक आईपीएलको उपाधि जितेको थियो ।