च्याम्पियन्स लिग फाइनल: लिभरपुल भर्सेस् रियल मड्रिड, यस्तो छ तथ्याङ्क
काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि इंग्लिस क्लब लिभरपुल र स्पेनी क्लब रियल मड्रिड खेल्दैछन् ।
खेल नेपाली समय अनुसार मध्यराति पौने १ बजे फ्रान्सको राजधानी पेरिसमा शुरु हुनेछ । दुवै टिम उपाधि जित्दै विश्वको अब्बल फुटबल क्लब बन्ने ध्याउन्नमा रहँदा दुबै टिमका समर्थकको नजर पेरिसतर्फ केन्द्रित भएको छ ।
यस्तो छ यी दुई टिमबीचको अहिलेसम्मको तथ्यांक
यी दुई टिमले युरोपेली प्रतियोगितामा अहिलेसम्म आठ पटक खेलेका छन् । जसमा रियल चार र लिभरपुल तीन खेलमा विजयी भएका छन् । त्यसैले आजको खेल जिते लिभरपुल रियलसँग पछि परेको यो तथ्याङ्क राम्रो बनाउन चाहन्छ ।
च्याम्पियन्स लिगको फाइलनमा भने यी दुई टिम आज तेस्रोपटक खेल्न लागेका हुन् । अहिलेसम्म दुबै टिमले एक अर्कालाई हराएर एक एक पटक उपाधि जितेका छन् । सन् १९८०–१९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१७–२०१८ मा रियलले पनि ३–१ ले नै खेल जित्दै बदला लिएको थियो ।
रियल मड्रिड च्याम्पियन्स लिगको कीर्तिमानी विजेता हो । जसले १३ पल्ट च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ । उसले सन् १९५६, १९५७, १९५८, १९५९, १९६०, १९६६, १९९८, २०००, २००२, २०१४, २०१६, २०१७ र २०१८मा च्याम्पियन्स लिग जितेको थियो । अर्को रोचक कुरा के छ भने रियल पछिल्ला सात फाइनलमा विजयी हुँदै आएको छ ।
लिभरपुल छ पटकको युरोपेली विजेता बनेको छ । लिभरपुलले सन् १९७७, १९७८, १९८१, १९८४, २००५ र २०१९ मा यो उपाधि जितेको थियो ।
प्रतियोगिताको नाम युरोपेली च्याम्पियन्स लिग राखेयता रियलले फाइनलमा हार ब्यहोर्नुपरेको छैन । रियल आज आठौँपटक युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्दैछ ।
रियल मड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोट्टी पाँचौँपटक च्याम्पियन लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् । त्यसमध्ये चारवटामा उनको टिम विजयी भएको छ । रियलकै जिनेदिन जिदान र लिभरपुलका बब पेसलीले तीन तीन खेल जिताएका छन् । आज रियललाई जिताउन सके एन्सेलोट्टी दुई फरक क्लबबाट च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक हुनेछन् । उनले एसी मिलानका लागि दुई पल्ट च्याम्पियन्स लिग जिताइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्