Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्यो

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं: पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएपछि खोजी गर्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ। मुस्ताङको लेते भन्ने ठाउँमा विमान दुर्घटना भएको स्थानीयले जानकारी दिएपछि सेनाको टोली काठमाडौंबाट उडेको हो। सेनाको एमआइ–१७ खोजीको लागि उडेको हो।

‘मुस्ताङको लेते भन्ने ठाउँमा दुर्घटना भएको भन्ने जानकारी आएको छ। त्यसको लागि हाम्रो टोली काठमाडौंबाट मुभ भइसकेको छ,’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने।

त्यस्तै, स्थल मार्गबाट पनि सेनाको टोली सूचना आएको ठाउँतर्फ गइसकेको छ।जहाज खोजीका लागि उडान गरेको फिस्टेल हेलिकोप्टर पुनः जोमसोम फर्किएको छ।

पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को–पाइलट र एअर होस्टेज किस्मी थापा रहेका थिए।

यसैगरी, हेलिकप्टर परिचालनसँगै सम्भाव्य स्थानमा स्थलगत खोजी पनि गरिएको छ ।पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।

विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको त्यहाँका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार तल्लो मुस्ताङको घाँसा, लेते, कोवाङ आसपासका क्षेत्रमा खोजी कार्यलाई केन्द्रित गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२५
प्रतिक्रिया दिनुहोस्