पहिलो सहभागितामै गुजरातलाई आईपीएलको उपाधि
काठमाडौँ– कप्तान हार्दिक पान्ड्यको अल राउण्ड प्रदर्शनका साथ नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदा आईपीएलले नयाँ उपाधि विजेता टोली पाएको हो ।
गुजरातले पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।
अहमदाबादमा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमा सुबमन गिलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए ।
डेभिड मिलर ३२ रनमा अविजित रहे । म्याथ्यु वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए । राजस्थानका ट्रेन्ट बोल्ड,प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो । राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे । याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडे । कप्तान सन्जु सामसन १४ रनमा आउट भए । गुजरातका हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट लिए ।