Nic Ad Nic Ad
Nic Ad Nic Ad

तारा एयरको जहाज खोज्न बिहानैदेखि टोली परिचालन, मौसमका कारण हेलिकोप्टर पठाउन कठिनाइ

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– तारा एयरको सम्पर्कविहीन जहाजको खोजी कार्य आज बिहानैबाट भइरहेको छ ।

बिहान ५ बजेदेखि नै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थलमार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्यानडा नेपाललाई जानकारी दिए ।

जहाज दुर्घटनाको सम्भावित क्षेत्रलाई लक्षित गरी स्थलमार्फत खोज तथा उद्धार टोली परिचालन गरिएको प्रजिअ शर्माले बताए । जोमसोमदेखि दक्षिण पश्चिम र धौलागिरि हिमाल आसपासको क्षेत्रलाई सम्भावित घटनास्थलको रुपमा केन्द्रित गरी खोज्ने कार्य अगाडि बढाइएको छ ।

जहाजको खोजीका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिए पनि प्रतिकुल मौसमका कारण हेलिकोप्टर परिचालन गर्न कठिनाइ भएको प्रजिअ शर्माले जानकारी दिए । बिहानैदेखि मुस्ताङको मौसम बिग्रिएको छ ।

जहाजको खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकोप्टरहरु तयारी अवस्थामा राखिएको र मौसम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

हिजो बिहान ९ : ५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्विनअटर जहाज अन्तिम पटक जोमसोम टावरसँग १० : ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएको थियो ।

उक्त जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ ।

तारा एयरको बेपत्ता जहाजमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । का–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि जहाजबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन् ।

तस्वीर : नेपाली सेना

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार