Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनी राष्ट्रपति जेलेन्स्की पहिलोपटक राजधानी किभबाहिरको युद्धग्रस्त क्षेत्रमा

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पहिलोपटक राजधानी किभ बाहिर देखा परेका छन् । उनले देशको द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको अग्रपङ्क्तिमा पुगेर त्यहाँ तैनाथ सैनिकहरूसँग भेट गरेका हुन्।

फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किभबाहिर उनी पहिलो पटक देखिएका हुन् । बुलेट प्रुफ बर्दी लगाएर खार्किभ सहरमा भग्नावशेषहरू अवलोकन गर्दै गरेका उनका तस्वीरहरू सार्वजनिक भएका छन्।

जेलेन्स्कीले सैनिकहरूलाई भनेका छन्- "तपाईँहरू हरेकको सेवाका लागि म धन्यवाद दिन चाहन्छु।" तर लगत्तै उनले स्थानीय सुरक्षा प्रमुखलाई सहरको "रक्षा नगरेको" आरोपमा बर्खास्त गरेका छन्।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ करिब १५ दिन जति शान्त रहे पनि रुसले हालैका दिनहरूमा पुनः गोलाबारी सुरु गरेको छ। युद्धको पाँच महिनासम्म युक्रेनको यो सहरले तीव्र बमबारीको सामना गरेको थियो । यो सहरका अग्ला घरहरू भग्नावशेषमा परिणत भएका छन् ।

एप्रिल र मेमा रुसी फौजहरू यो सहर आसपासका क्षेत्रबाट बिस्तारै पछि हटेका थिए । रुसी फौज पछि हटेपछि सहरबाट विस्थापित भएका कतिपय मानिस पुनः फर्किएका थिए।

रुसी आक्रमणपछि बन्द रहेको यहाँको मेट्रो सेवा समेत पहिलो पटक पुनः सुरु भएको थियो। जेलेन्स्कीको भ्रमणलगत्तै पनि सहरमा कैयौँ ठूला विस्फोटका आवाज सुनिएका थिए।

जेलेन्स्कीको कार्यालयले टेलिग्राममा राखेको भिडियोमा भनिएकोमा खार्किभ क्षेत्रमा २, २२९ भवन क्षतिग्रस्त भएको उल्लेछ । रुस हाल पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा केन्द्रित भएको छ । रुसले यो क्षेत्र आफ्नो कब्जामा लिने युद्धको प्रमुख उद्देश्य भएको बताउने गरेको छ।

शनिवार रुसको रक्षा मन्त्रालयले डोन्बास क्षेत्रको एउटा महत्त्वपूर्ण सहर कब्जामा लिएको बताएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०३
प्रतिक्रिया दिनुहोस्