यस्तो छ केकेको गायन करियर
मुम्बई । बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण मंगलबार राती निधन भएको हो । केके आफ्नो मेलोडी स्वरका कारण लोकप्रिय थिए । ५३ वर्षका उनी नयाँदिल्ली निवासी हुन् ।
सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा उनको जन्म भएको थियो । केकेले दिल्लीको माउण्ट सेन्ट मेरी स्कुलमा अध्ययन गरेका हुन् । उनले दिल्ली विश्वविद्यालयको किरोडीमल कलेजबाट ग्राजुएसन गरेका थिए । सन् १९९१ मा आफ्नो बाल्यकालकी साथी ज्योति कृष्णासँग उनले विवाह गरेका थिए । उनका एक छोरा नकुल कृष्ण कुन्नथ र छोरी तमारा कुन्नथ छिन् ।
बलिउडमा पाइला राख्नुअघि केकेले ३ हजार ५ सय जिंगल गाएका थिए । उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’ नामको गीत गाएका थिए । यो गीतमा भारतीय क्रिकेट टिमका वरिष्ठ सदस्य आवद्ध थिए । यसपछि उनले म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका थिए । यो एलबमको सफलतापछि उनले बलिउडमा आधिकारिक रुपमा करियरको ढोका खोलेका हुन् ।
उनले हिन्दीसहित कैयौं भाषामा गीत गाएका थिए । जसमा तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी भाषाका गीत छन् । उनी सन् २००० को दशकका सर्वाधिक सफल भारतीय गायकमा पर्दछन् । उनले झण्डै ७०० बढी गीत गाएका थिए ।
उनका लोकप्रिय गीतमा ‘तडप तडप के इस दिल से’, तमिल गीत ‘अपाडी पोडु’, ‘डोला रे डोला’, ‘क्या मुझे प्यार हे’, ‘वो लम्हे’, ‘आँखो मे तेरी’, ‘बचना ए हसिनो’, ‘खुदा जाने’, ‘पिया आए ना’, ‘मर्डर ३’ को ‘मत आजमा रे’, ‘इण्डिया वाले’ र ‘तु जो मिला’ जस्ता गीत लोकप्रिय छन् ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउड सेलिब्रेटीहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।
—दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:२५
प्रतिक्रिया दिनुहोस्