Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाबु छोराको हत्या अभयोगमा तीन जना पक्राउ

शुक्रबार, मंसिर ९, २०७९

सिरहा– सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका बाबु र छोराको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गापा १ महनौरकै ४८ वर्षीय जनिफ मियाँलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

बाबु छोराको यही जेठ ८ गते बिहान २ बजे खुकुरी प्रहार गरी हत्या भएको थियो । व्यक्तिगत रिसिइबिका कारण बाबुछोराको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिम्सिनाले जानकारी दिए ।

मृतक सन्त कुमारको यही जेठ ११ गते मोरङका एक युवतीसँग विवाह तय भएको थियो। विवाहको तयारी भइरहेको समयमा नै हत्या भएकाले त्यसैलाई आधार बनाएर अनुसनधान गर्दा घटनामा संलग्नहरूसम्म पुगिएको एसपी तिम्सिनाले बताए। उनले भने, ‘सन्त कुमारको जो युवतीसँग विवाह तय भएको थियो, त्यसअघि नै ती युवतीसँगै बेचु पालको छोराको विवाह हुने पक्का भएको थियो। विवाह गरेबापत केटीपक्षले विराटनगरमा जमिन दिने र सो जमिनमा घर समेत बनाइदिने तय भएको थियो । आवश्यक परे व्यवसाय गर्न पुँजी समेत दिने पक्का भएको थियो ।

तर बेचु पालका छोराले युवतीको पहिला पनि विवाह भइसकेको भन्दै विवाह गर्न अस्वीकार गरेपछि सन्त कुमारसँग विवाह तय भएको थियो । बेचु पालले छोरालाई विवाहका लागि मनाई रहेकै वेलामा सन्त कुमारले विवाह गर्ने भएपछि त्यसैको रिसिइबिका कारण सन्त कुमारका भाउजू र जनिफको मिलेमतोमा हत्या भएको प्रहरीको भनाइ रहेको छ।

शान्तिदेवीको सासू ससुरासँग राम्रो सम्बन्ध नरहेको, अंश नदिएको, माइतीबाट ल्याएको चाँदीको गहना पनि सासूले राखेको र देवरको विवाहमा पनि विवाहमा नआउनु भनेकाले उनी पनि रिसाएकी थिइन्। जानिफ शान्तिदेवीको श्रीमानको साथी हुन्। शान्तिदेवीका श्रीमान् रोजगारीको लागि विदेशमा छन्।

यही कुरा बेचुले थाहा पाएपछि उनीहरूले हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ।

तर, हत्या गर्ने राति योजना अनुसार शान्ति र जानिफ नआए पनि बेचन एक्लै आएर हत्या गरेको खुलेको छ । हत्या भएको राती बेचु झोला बोकेर घटनास्थल आसपास देखिएको स्थानीले समेत बताएको प्रहरी अनुसन्धानले देखाएको छ । बेचु अवकाश प्राप्त शिक्षक रहको बताइएको छ।

प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा दर्जन बढी व्यक्तिहरूलाई पटक पटक सोधपुछ गर्ने गरेको भए पनि आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ। प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी एक थान, मोबाइल चार थान सहितका सामाग्री बरामद गरेको छ।

पक्राउ परेका उनीहरूलाई ज्यान मुद्दा दर्ता गराई आवश्यक अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्