अदालतको दुई शर्तमा अबु धाबी जाँदै ज्याकलिन
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज लामो समययता विवादको विषय बन्दै आएकी छन् । मनी लन्ड्रिङको मामलामा मुछिएकी अभिनेत्री ज्याकलिनलाई केही समयअघि मात्र अदालतले विदेश जाने अनुमति दिएको थियो ।
दिल्ली कोर्टले ज्याकलिनलाई अबु धाबीमा हुन लागेको ‘आइफा अवार्ड २०२२’मा जानका लागि विदेश यात्राको अनुमति दिएको थियो । उनलाई अदालतले दुई सर्तमा विदेश जान अनुमति दिएको खुलेको छ ।
अदालतका न्यायाधिस सुधीर कुमार जैनले अभिनेत्रीलाई ३१ मेदेखि ६ जूनसम्म अबू धाबी जान अनुमति दिएका छन् । उनले त्यहाँ जानुअघि एक करोडको फिक्स डिपोजिट रिसिप्ट जम्मा गर्नुपर्नेछ ।
यसबाहेक अदालतले आदेशमा अभिनेत्री ज्याकलिन निर्धारित समयमा भारत नफर्किएमा उनको एक करोड जमानत जफत गर्ने शर्त राखेको छ । न्यायाधिस जैनले तल्लो अदालतको आदेशमा हस्तक्षेपको आवश्यकता नभई केही तथ्यमाथि विचार गरेर उनलाई आदेश दिइएको बताए । उनले ज्याकलिन विदेशबाट फर्किएर अनुसन्धानको काममा सहयोग गर्नका लागि यो शर्त लगाइएको बताए ।
ज्याकलिन सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मामलामा प्रवर्तन निर्देशनालय(ईडी)को निशानमा छिन् । यो मामलामा अभिनेत्रीविरुद्ध एक सक्रिय लुक आउट सर्कुलर गरिएको छ । त्यहीकारण उनी आफूले चाहेको ठाउँमा जान सकेकी छैनन् ।
–अमरउजाला
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:४८
प्रतिक्रिया दिनुहोस्