ल्यापटप खरिद गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू
काठमाण्डौ– पछिल्लो समय हामीलाई प्रयाजसो हरेक कार्यको लागी प्रविधिको आवश्यकता पर्ने गर्दछ । आजकाल अफिसियल कार्यमा होस अथाव शिक्षाको लागी होस प्रविधिको प्रयोग गरिन्छ । मानिससँग जति सुकै महँगो र धेरै सुविधा भएको स्मार्टफोनहरू भएपनि ल्यापटपको प्रयोग भने घटेको छैन थप बढ्दै गएको देखिन्छ ।
अफिसियल कामका लागी होस अथवा विद्यालयको परियोजना कार्यको लागी होस जुनसुकै कार्यको लागी पनि उपयुक्त हुने भएकाले यसको आवश्यकता बढ्दै गएको छ । ठुलो स्क्रिन हुने बोकेर हिड्न सकिने र जुनसुकै ठाँउमा पनि काम गर्न सकिने भएकाले पनि ल्यापटप प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको हो । तर कतिपय अवस्थामा मानिसहरू ल्यापटप खरिद गर्दा कस्तो र कुन ब्रान्डको ल्यापटप खरिद गर्ने भन्नेबारे अन्योलमा पर्ने गर्दछ ।
ल्यापटप प्रयोगकर्ताहरु कुनै ल्यापटप पसलमा गएपछि त्यहाँ धेरै प्रकारका ल्यापटप देखाउन्छन् । ति ल्यापटप मध्ये तपाईंको लागी कुन उपयुक्त हो भनेर छुट्याउनु एक प्रकारको चुनौति नै हो । त्यसकारण ल्यापटप खरिद गर्नु भन्दा अगाडि ल्यापटपमा तपाई कस्ता सुविधाहरू होस भन्ने चाहनु हुन्छ आफ्नो आवश्यकता के हो पत्ता लगाउनु पर्छ । त्यसका लागी तपाईंले केही कुराहरूमा विशेष ध्यान दिनु जरुरी छ । जसले तपाईँलाई आफूले खोजेको जस्तो ल्यापटप खोज्न मद्दत गर्नेछ ।
आफ्नो बजेट निर्धारण
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कति बजेटको ल्यापटप खरिद गर्ने हो । आफूसँग कति पैसा छ र ल्यापटपका लागि कतिसम्म खर्च गर्न सक्दछ भन्ने विषयमा आफू सुरुमै स्पष्ट भएको खण्डमा बजारबाट खरीद गर्ने ल्यापटपका विकल्पहरू छनोट गर्न सजिलो हुन्छ । यसले तपाईँलाई आफूले खरीद गर्ने ल्यापटपबाट राखिएका अपेक्षाहरू सुरुबाटै निश्चित गर्नमा पनि सहयोग मिल्छ ।
यद्यपि, सस्तो मूल्यका ल्यापटपहरुमा टचस्क्रिन, ब्याकलिट किबोर्ड, युएसबी सी पोर्ट तथा उच्च स्पीडयुक्त एसएसडी नहुन सक्दछ । कम मूल्यका ल्यापटपहरु आकारमा ठूलो तथा तौल पनि बढी हुन सक्दछ । तर यदि तपाईँसँग ल्यापटप खरिदका लागि बजेट नै सीमित छ भने तपाईले यस्ताखाले सुपथ मूल्यका ल्यापटप पनि खरिद गर्नसक्नु हुनेछ ।
तर यदि तपाईंले विशेष खालका फिचरहरुयुक्त ल्यापटप जस्तै कम वजन, स्टाइल, हाई सेटिंग्समा विभिन्न गेम खेल्न मिल्ने ल्यापटप खरीद गर्न चाहनुहुन्छ भने यसका लागि बढी मूल्य तिर्नुपर्ने हुन्छ । सामान्य अफिस तथा स्कुल प्रयोगजनका लागि, सामान्य इन्टरनेट चलाउन तथा हल्का मनोरञ्जनको प्रयोजनका लागि मात्रै ल्यापटप किन्दै हुनुहुन्छ भने मध्यम मूल्यका ल्यापटप उपयुक्त हुन्छन् ।
खरिद गर्न लागेको ल्यापटपको स्पेस कति छ छनोट गर्ने
तपाईंले ल्यापटप खरीद गर्दा सन्तुलन मिलाउनै पर्ने केही प्यारामिटरहरु हुन्छन् । ल्यापटपको सीपीयु, जीपीयु, र्याम र स्टोरेज सबैभन्दा महत्वपूर्ण पक्षहरु हुन् । सीपीयुको कुरा गर्दा धेरै कुराहरूमा ध्यान दिनु पर्दछ । ल्यापटप बजारमा अधिकांस इन्टेलको सीपीयुयुक्त ल्यापटप नै पाइन्छन्, तर यदि एएमडीको सीपीयु भएका ल्यापटप पनि राम्रै गुणस्तरका हुन्छन् । एएमडीको राइजेन सिपियु शक्तिशाली हुनुका साथै बढि तात्दैन पनि ।
सीपीयुमा तपाईंले विभिन्न जेनेरेसन पाउन सक्नुहुन्छ । ल्यापटपको सिपियुका लागि पछिल्लो जेनेरेसन भने ८ औँ जेनेरेस हो । निश्चित रुपमा पुस्ता जति नयाँ भयो त्यति नै ल्यापटप गुणस्तरीय र महंगो हुन्छ । तर केही राम्रो गुणस्तरका पूरानो जेनेरेसनको सीपीयु भएका ल्यापटपका मोडेल पनि पाउन सक्नुहुन्छ । आफ्नो बजेट तथा आवश्यकता हेरिकन तपाईंले नयाँ भर्सन हेर्नु उपयुक्त हुन्छ ।
ग्राफिक्सका लागि अधिकांश ल्यापटपमा इन्टेलको इन्टिग्रेटेड जीपीयु हुन्छ । गेमिंग ल्यापटपका लागि उच्च मूल्यको सीपीयु भन्दा उच्च मूल्यको जिपियू प्रभावकारी हुन्छ ।
ल्यापटपमा र्याम छनोट गर्दा खासै धेरै विकल्पहरू हुँदैनन् । सस्तो मूल्यका ल्यापटपमा ४ जिबी र्याम पनि हुने भएतापनि आम प्रयोगका लागि ८ जिबीको र्याम भएका ल्यापटप किन्नु राम्रो हुन्छ । त्यस्तै गेमिंग ल्यापटपका लागि १६ जिबी र्याम उपयुक्त हुन्छ ।
त्यस्तै ल्यापटपको स्टोरेजको हकमा सुपथ मूल्यका ल्यापटप हार्ड ड्राइभ स्टोरेजयुक्त हुन्छन् भने पछिल्लो मोडेलका तथा महंगा ल्यापटपहरुमा स्टोरेजका लागि सोलिड स्टेट ड्राइभ अर्थात् एसएसडी हुन्छ । हार्ड डिस्क भन्दा एसएसडी भएका ल्यापटप फास्ट हुनुका साथै उच्च क्षमतायुक्त हुन्छन्
त्यसैले ल्यापटप खरीद गर्दा सकेसम्म धेरै र्याम र स्टोरेज क्षमताको ल्यापटप किन्नु पर्दछ । त्यस्तै ल्यापटप खरीद गर्दा वाइफाइ भर्सन, ब्याट्री क्षमता तथा ब्याट्री लाइफ र वेबक्याममा पनि ध्यान दिनुपर्दछ ।
ल्यापटपको साइज र वजनको बारेमा बुझ्ने
ल्यापटप साधारणतया स्क्रिनको साइज अनुसार वर्गीकरण गरिएका हुन्छन् । जसमा ११ इन्चदेखि १५ तथा १७ इन्चको स्क्रिन सम्मका ल्यापटप बजारमा प्रयाजसो पाइन्छन् । बजारमा स्लिम, हलुका तथा उच्च मूल्यका अधिकांश ल्यापटहरु १३ इन्च स्क्रिन मोडेलका हुने गरेका छन् । त्यस्तै अधिकांश सुपथ मूल्यका ल्यापटपहरु १५ इन्च स्क्रिन भएका हुने गरेका छन् ।
तपाईले ल्यापटप खरीद गर्दा सकेसम्म फूल एचडी अर्थात् १९२० गुणा १०८० स्क्रिन रिजोलुशन भएका ल्यापटप खरीद गर्नु राम्रो हुन्छ । उच्च मूल्यका ल्यापटपमा फोर को रिजोलुसन युक्त स्क्रिन पनि सामान्य भैसकेका छन् । गेमिंग ल्यापटपमा भने स्क्रिन रिजोलुसन धेरै हुँदैन ।
ल्यापटप किन्दा जति स्लिम र हलुका भयो त्यति नै धेरै मूल्य पर्दछ भन्ने पनि होइन । ल्यापटपको स्पेसिफिकेसन महत्वपूर्ण हुन्छ । कतिपय मोडेलमा ल्यापटपलाई हलुका बनाउनका लागि कमजोर प्रोसेसर पनि राखिएको हुन्छ ।
यस चरणमा तपाईंले यो कुराको पनि निधो गर्नुपर्ने हुन्छ कि तपाईंले सामान्य खालको ल्यापटप किन्दै हुनुहुन्छ कि टू इन वान ल्यापटप किन्दै हुनुहुन्छ जुन ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकियोस् । यदि तपाई डेस्कमा वा काखमा राखेर चलाउने हो भने सामान्य खालको ल्यापटप नै ठिक हुन्छ । तर पढ्नका लागि यताउता लगिरहनुपर्ने, स्टाइलसले स्क्रिनमा स्केच गर्ने वा नोट लेख्नुपर्ने, टच अप्टिमाइज्ड गेम खेल्ने आदिका लागि चाहीँ टू इन वान मोडेल छनोट गर्नु उपयुक्त हुन्छ ।
ल्यापटप खरिद गर्नु भन्दा पहिला आफैले चलाएर हेर्नुहोस्
ल्यापटप, मोबाइल जस्ता चिजहरु अनलाइनमा खरीद गर्दा कहिलेकाहीँ ठगिने गरेका घटना पनि सुनिन्छन् । त्यसैले ल्यापटप किन्दा पसलमा गएर आफैले हेरेर र चलाएर किन्नु राम्रो हुन्छ । यसो गर्दा तपाईँलाई ल्यापटप छनोटमा धेरै विकल्प प्राप्त हुनेमात्र होइन आफूले चाहेको र मूल्य तिरेको ल्यापटप नै खरीद गर्न सक्नुहुन्छ । किन्नु अगाडि ल्यापटप खोलेर चलाउँदा तपाईंले त्यसको क्षमता तथा फिचरहरुको वास्तविक अनुभव गर्न सक्नुहुन्छ । साथै ल्यापटपको मेटेरिएलको गुणस्तरका साथै ल्यापटपको तौल पनि आफैले परीक्षण गर्न सक्नुहुन्छ ।
ल्यापटप किन्न जानु अगाडि तपाईंले आफूले किन्न चाहेको मोडेलहरुको बारेमा अनलाइनबाटै स्पेसिफिकेसन, ग्राहकहरुको पृष्ठपोषण र विज्ञहरुको समीक्षा पढ्न सक्नुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्