पललाई थुनामा नै राख्ने उच्च अदालतको आदेश
काठमाडौं—नाबालिग बलात्कारको मुद्धामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई थुनामा नै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि शाह पक्षधर वकिलहरु तारेखमा रिहाइको माग गर्दै उच्च अदालत पोखरा गएका थिए ।
न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बिहिबार बन्द कक्षमा बहस गरिएको थियो । बहसपछि अदालतले उनलाई थुनामै राख्न आदेश दिएको हो ।
नाबालिग बलात्कारको मुद्दामा पल शाह अहिले पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । जिल्ला अदालत नवलपुर र तनहुँले पललाई थुनामा पठाउने आदेश दिएका थिए । तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए ।
यस्तै सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेको थियो । पलले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका थिए । २०७८ चैत २४ गते दुवै पक्षका कारण स्थगित भएको थियो । त्यसपछि वैशाख ८ गते उच्च अदालतमा पेशी तोकियो । तर त्यतिबेला शाहका कानुन व्यवसायी नवलपुरमा बकपत्रका लागि पुगेका थिए । भोलिपल्टै पोखरा पुग्न नसक्ने भन्दै उनीहरुले नै स्थगित गराए ।
शुरुमा बलात्कारको अभियोग लगाएका जाहेरवाला र पीडितले बकपत्रका क्रममा कुरा फेरेसँगै पल छुट्ने धेरैको पूर्वानुमान थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२३
प्रतिक्रिया दिनुहोस्