टर्कीले फेर्यो आफ्नो नाम, अब तुर्किय भन्नु पर्ने
काठमाडौं । पश्चिम एसिया र दक्षिण–पूर्वी युरोपमा अवस्थित मुलुक टर्कीले आफ्नो नाम फेरेको छ । अंकाराको औपचारिक आग्रहपछि अब संयुक्त राष्ट्रसंघमा सो मुलुकलाई तुर्किय भनिने छ ।
सो मुलुकले अनेकौँ अन्तर्राष्ट्रिय संस्थाहरुलाई नाम परिवर्तनका लागि आग्रह गर्नेछ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत वर्ष नाम फेरेर मुलुकलाई ‘रिब्रान्ड’ गर्ने अभियान शुरु गरेका थिए । ‘यहाँका जनताको संस्कृति, सभ्यता र मान्यतालाई सबैभन्दा उत्तम तरिकाले तुर्कियले प्रतिनिधित्व गर्छ,’ डिसेम्बरमा उनले भनेका थिए । यसैसाता नाम परिवर्तनको आग्रह आएपछि सो परिवर्तन गरिएको राष्ट्रसंघले जनाएको छ ।
धेरैजसो तुर्कहरुले आफ्नो मुलुकलाई तुर्किय नै भन्ने गर्छन् । तर, अंग्रेजीकरण भएको टर्की व्यापक प्रयोगमा छ । सरकारी प्रसारक टीआरटीले गत वर्षदेखि नै नाम परिवर्तन गरिसकेको थियो । उसले नाम परिवर्तनको कारणमध्ये चरा टर्की र देशको नामबीच फरक नसुनिनु पनि भएको जनाएको थियो ।
त्यस्तै, क्याम्ब्रिज शब्दकोशमा टर्कीको अर्थमा ‘नराम्ररी असफल’ वा ‘मुर्ख व्यक्ति’ भन्ने उल्लेख भएको भन्दै अर्को कारण दिइएको थियो । कतिपयले भने यो प्रयास प्रभावकारी नहुने बताएका छन् ।
२०२० मा नेदरल्यान्ड्सले आफूलाई ‘रिब्रान्डिङ’ गर्ने प्रयासमा हल्यान्ड नाम प्रयोग गर्न छाडेको थियो । त्यसअघि ग्रिससँगको विवादका कारण म्यासेडोनियाले नाम परिवर्तन गरी उत्तर म्यासेडोनिया बनाएको थियो । २०१८ मा स्वाजिल्यान्डले नाम परिवर्तन गरेर एस्वातिनी राखेको थियो । इरानलाई इतिहासमा पर्सिया भनिन्थ्यो, सियाम थाइल्यान्ड बन्यो भने रोडेसिया जिम्बाबे ।