मदनदासकाे अनुभुति: फ्यान र मतदाता भिन्न रहेछन् (भिडिओसहित)
काठमाडौँ– कलाकारिता र सामाजिक काममा सक्रिय कलाकार मदनदास श्रेष्ठ स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका उनी ५ हजार ७ सय ७० मतसहित पाँचौं स्थानमा रहे ।
अभियनमा एउटा उँचो ठाउँ बनाएका मदनदास आफ्नो त्यही लोकपृयता मतपत्रमा पनि प्रतिबिम्बित हुन्छ भन्ने आँकलनका साथ उम्मेदवार बनेका थिए । तर, सोचेजस्तो भएन ।
मेयरमा निर्वाचित नभएपनि मदनदास दुःखी छैनन् । शुक्रबारको भेटमा उनी अरुबेला जस्तैँ हँसिला देखिए, उत्साहि सुनिए । उनी आफूले पाएको मतप्रति सन्तुष्ट थिए ।
‘चुनावको परिणामबाट म सन्तुष्ट छु । ५६ जना उम्मेदवारमध्ये पाचौँ नम्बरमा आउनु मेरा लागि लोकप्रिय मत हो’, उनी भन्दैथिए,‘यो मतपरिणामले मेरो हौसला बढेको छ ।’
प्राप्त मतको विश्लेषण गर्दै उनले निकालेको निष्कर्ष छ– ‘मतदाताले तिमीले राजनीतिमा अझै गर्न बाँकी छ’ भन्ने प्रेरणादायी मत दिएका हुन् ।’
आकस्मिक जस्तो गरि राप्रपाबाट उम्मेदवार बनेका मदनदासलाई अझ लामो समय तयारी गर्न पाएको भए अझ बढी मत आउँथ्यो कि भन्ने चाहिँ लाग्दोरहेछ । तर, ठुला पार्टीहरूको संगठन र स्वतन्त्र उम्मेदवारको लहरका बीच आफुलाई ‘यति धेरै’ मत पाउनुलाई आफुले सम्मान र आदरको रुपमा लिएको उनले बताए ।
यो मतपरिणामले आफूलाई महानगरका नागरिका पक्षमा अझै धेरै काम र सेवा गर्नुपर्छ भन्ने कुराको सन्देश दिएको मदनदासको बुझाई छ ।
फ्यान र मतदाता
मदनदासले मेयरको उम्मेदवारी दिएर भोट माग्न घरदैलो अभियान गरिरहँदा ‘फ्यान’ र मतदाताको अर्थ र भेदलाई नजिकबाट नियाल्ने मौका पाए । ‘टेलिभिजन, रंगमञ्च र चलचित्रको पर्दामा देखिने कलाकार आफ्नै अगाडि भोट माग्न आउँदा जनता खुशी हुँदा त रहेछन् ।
तर, कलाकारितामा पास भएको मान्छे महानगर हाँक्नका लागि पनि पास हुन्छ भन्ने विश्वास भने गरिनहाल्ने रहेछन् भन्ने उनको अनुभव छ । मलाई विश्वास गरेर मत दिनुभएका मतदातामा ‘यसले त्यो भूमिकामा काम गर्न सक्छ कि सक्दैन हेर्नै बाँकी छ’ भन्ने भावना रहेको भन्ने अर्थमा मैले बुझेको छु’, उनी भन्छन् ।
आफूले प्राप्त गरेको मतलाई जनताले ‘मदनदासले तिमीले पनि काम गर्नुपर्छ है’ भन्दै दिएको ‘आशिर्वाद’को रुपमा लिएको उनी बताउँछन् । आफूले नाटक वा चलचित्रमा निर्वाह गरेको चरित्र दर्शकले स्वीकार्ने गरे पनि समाजसेवाबाट राजनीतिमा आउँदा त्यसप्रति भने केही अरुची देखिएको उनको बुझाई छ ।
यसकारण राप्रपा
मदनदासका अनुसार उनलाई अन्य दलबाट पनि पार्टी सदस्यताको प्रस्ताव नआएको होइन । तर उनले राप्रपा नै रोजे । किन त ? ‘म पहिलेदेखि नै राष्ट्रप्रति प्रतिबद्ध, कटिबद्ध र राष्ट्र नै ठूलो हो भन्ने भावले काम गरिरहेको थिएँ ।
देश, जनता र राष्ट्र नै सर्वोपरी मान्थें’, मदनदास खुल्छन्, ‘राप्रपाको उद्देश्य, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भनाईसँग मेरा कतिपय कुरा मिल्न गए । त्यसकारण एक राष्ट्रभक्तको नाताले यही पार्टीमा आबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने लाग्यो ।’
उनलाई राप्रपाको भ्रष्टाचारमुक्त समाज र राष्ट्रप्रति इमान्दारिपूर्वक काम गर्नुपर्छ भन्ने सोचाईले आकर्षित गरेको रहेछ । ‘भ्रष्टाचार गर्नु भनेको ‘आमाको रगत खानु सरह हो’ भन्ने उहाँहरुको सिद्धान्त मनपर्यो । पार्टीमा छिरेर पार्टीबाट नाजायज फाइदा लिन खोज्ने, दाम र पद खोज्ने व्यक्तिहरू पार्टीमा नआए पनि हुन्छ भन्ने मान्यताले झन तान्यो’, उनले भने ।
मदनदासको बुझाईमा राजनीति पनि समाजसेवा हो । उनी सामाजिक काममा लाग्ने व्यक्ति राजनीतिमा लाग्नुलाई ठूलो विषय मान्दैनन् । तर, राजनीतिमा लागेर त्यसलाई कमाउने भाँडो बनाउने प्रवृत्तिको भने उनी विरोध गर्छन् ।
बालेनप्रति सकारात्मक
काठमाडौँ महानगरपालिकामा मेयरका रुपमा बालेन शाहको उदयलाई मदनदास सकारात्मक रुपमा लिन्छन् । ‘यसपटकको परिणामले मतदाताले युवाशक्तिको आवश्यकता र भरोसाका रुपमा अनुमोदन गरेका हुन् ।
यसभन्दा अघिको नेतृत्वले राम्रा काम गरेको भए अहिले यो अवस्था आउँदैन थियो होला’, उनी भन्छन्, ‘बालेनप्रति मेरो सहयोग र समर्थन रहिरहन्छ । काठमाडौँलाई बनाउछु भनेर आएका उहाँलाई मेरो सधैं सहयोग र समर्थन हुनेछ ।’
अब समाजसेवासँगै राजनीति पनि
अभिनयसँगै सामाजिक काममा सक्रिय मदनदास अब राजनीतिलाई पनि सँगै लैजाने योजनामा छन् । कलाकारितापछि सामाजिक काम आफ्नो पहिचान भएकाले यी दुईसँगै राजनीतिलाई पनि प्राथमिकता दिने उनको सोच छ ।
नाटकबाट कलाकारितामा प्रवेश गरेका मदनदासले ‘के घर के डेरा’बाट चलचित्रको यात्रा सुरु गरे । उनले ‘पच्चीस वसन्त’, ‘चेलीबेटी’, ‘तिलहरी’ हुँदै पछिल्लो पटक ‘कीर्तिपुरः द लिजेण्ड अफ कीर्तिलक्ष्मी’सम्म आईपुग्दा झण्डै दुई दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । उनले दर्जनौँ टेलिचलचित्रमा पनि अभिनय गरेका छन् ।
एजेण्डा
मदनदासले मेयरको उम्मेद्वारी दिइरहँदा फोहोर व्यवस्थापन, युवा स्वरोजगार, जेष्ठ नागरिकको सवाल, ढल समस्या र ट्राफिक व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका थिए । अघिल्ला नेतृत्वको पालामा संयुक्त राजनीति भएकाले फोहोर व्यवस्थापनमा अड्चन आएको दाबी गर्दै उनी व्यवस्थित र स्थायी रुपमा फोहोरमुक्त राजधानी बनाउने एजेण्डालाई अघि सारेका थिए ।
त्यस्तै युवाहरुलाई स्वरोजगारसँगै उनीहरुलाई स्वस्थ रहनका लागि सार्वजनिक पार्कमा सामान्य किसिमको व्यायामशाला निर्माण, जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका वडा–वडामा हेल्थ केयर सेन्टर स्थापनाको एजेण्डालाई पनि उनले समेटेका थिए ।
हेर्नुहोस् भिडिओ