मैत्रीपूर्ण फुटबलमा ओमानसँग नेपाल पराजित
काठमाडौँ– ओमानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।
कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।
ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो ।
यस अघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । नेपाली टोली कतार थप तयारी गरेर छनोटका लागि कुवेत जाने छन् ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छन् ।