Nic Ad Nic Ad
Nic Ad Nic Ad

तस्बिरमा मच्छिन्द्रनाथको भोटो जात्रा

बिहीबार, मंसिर ८, २०७९
ललितपुरः शनिबार बहुमुल्य हीरामोती जडित भोटो देखाइएको छ। साइत हेरेर जुराएपछि चार दिनअघि लगनखेलबाट जावलाखेल पुर्‍याइएको मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो देखाइएको हो। राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतले भोटो र जात्राको अवलोकन गरे। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो विगत वर्षझैं यस वर्ष पनि गुठी संस्थान ललितपुर शाखाका प्रमुखले रथको चारै कुनाबाट ‘यो भोटो कसको हो ?’ भनेर देखाए। किम्वदन्तीअनुसार, कोही सप्रमाण आए भोटो दिनुपर्छ भन्ने छ तर झन्डै एक हजार चार सय वर्षअघिदेखि यसरी नै वर्षेनी भोटो देखाइँदै गरे पनि कसैले दाबी गर्न सकेका छैनन्। रथको चारैकुनाबाट तीन तीन पटक भोटो देखाएपछि भण्डारीले रथ र मूर्तिको दर्शन र पूजाआजा गरेकी थिइन् । यसपछि सानो आकारको मिननाथको रथको पनि दर्शन गर्ने परम्परा छ। किम्वदन्तीअनुसार नागराजकी पत्नीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रले निको पारेपछि नागराजले ती कृषकलाई उपहारस्वरुप भोटो दिएका थिए। खेतमा काम गर्ने क्रममा भोटो हराएपछि व्यापक खोजी भएको तर कतै नपाएपछि जावलाखेलमा भएको रातो मच्छिन्द्रनाथको रथजात्रामा एक राक्षसले लगाएको भेटियो। कृषकले आफ्नो भोटो भनेर माग्दा विवाद भएको तर दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि सप्रमाण ‘जसले भोटो मेरो हो भन्छ उसैलाई दिने’ भन्ने शर्तमा उक्त हीरामोती जडित बहुमुल्य भोटो मच्छिन्द्रनाथको पासमा शिलबन्दी गरी राखिन्छ। शिलबन्दी तोडेर सबै सामू प्रदर्शन गरेपछि पुनः गुठी संस्थान ललितपुरका प्रमुखले रोहबरमा एक वर्षका लागि शिलबन्दी गरेर राख्छन्। विवाद तत्कालीन राजासामु पुर्या‍एपछि एक हजार चार सय वर्ष अघिदेखि यसरी नै वर्षेनी राष्ट्रप्रमुख र जनता (राजा र प्रजा) लाई देखाइँदै आइएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०१
प्रतिक्रिया दिनुहोस्