रोहितको सतक र सोमपालको उत्कृष्ट बलिंङमा नेपाल विजयी
काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जीत निकालेको छ । शनिबार राति भएको दोस्रो अभ्यास खेलमा नेपालले ह्युस्टन हुरिकेन्समाथि २९ रनको जित निकालेको हो ।
टेक्ससमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९।१ ओभरमा अलआउट हुँदै २५० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले शतकीय इनिंग्स खेले । उनले सर्वाधिक १०१ रन बनाए । आरिफ शेखले ४१, दीपेन्द्रसिंह ऐरीले २४, देव खनालले १९ रन बनाए । त्यसअघि ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सुनिल धमला १३ रन बनाउँदै पभिलियन फर्किएका थिए ।
हुरिकेन्सका लागि मोहम्मद इल्लियासले सर्वाधिक ५ विकेट लिँदा हरमीत सिंहले २ तथा हसन रशिदले १ विकेट लिए ।
जवाफी ब्याटीङमा उत्रिएको हुरिकेन्स ४३।३ ओभरमै २२१ रनमा समेटियो । हुरिकेन्सका लागि सर्वाधिक ९९ रन बनाएका निनद निम्बलकर शतकबाट १ रनले चुके । यस्तै रमीज राजा जुनियरले २९, एन्ड्रीज गोसले २८, गौरव बजाजले १५, उस्मान रफिकले १२ तथा नितिश कुमारले १० रन बनाएपनि टोलीको हार टार्न पर्याप्त रहेन ।
हुरिकेन्सलाई कम स्कोरमा रोक्न नेपालका सोमपाल कामीले सर्वाधिक ५ विकेट लिँदा किशोर महतो र सागर ढकालले समान २र२ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो ।
यसअघि नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्स टोलीसँग पराजित भएको थियो । क्रिकेट विश्वकप लिग २ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको तयारीको लागि नेपालले अभ्यास खेल खेलेको हो । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, ओमान र नेपाल रहेका छन् । नेपालले ९ जुनमा ओमानविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०९
प्रतिक्रिया दिनुहोस्