प्रकाश अभिनेता प्रदीप लेख्छन्–कलाकारको हिसाबले केही विशेष छ
काठमाडौं– नेपाली फिल्ममा चकलेटी हिरोका रुपमा उदाएका अभिनेता प्रदीप खड्का नयाँ फिल्म ‘प्रकाश’का कारण चर्चामा छन् । यो फिल्म आगामी भदौ १० गते रिलिज हुँदैछ । फिल्ममा प्रदीपले एक जुम्ली युवाको चरित्र निभाएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै फिल्मबारे आफ्नो बुझाई राखेका छन् ।
‘मेहनत र कला प्रतिको इमान्दारितामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको संघर्षको एउटा नतिजा भदौ १० गते प्रदर्शन हुने चलचित्र ‘प्रकाश’ जुन मेरो लागि कलाकारको हिसाबले केही विशेष छ । यस चलचित्रमा काम गर्ने क्रममा, कला र कलाकारिता प्रतिको हेर्ने मेरो दृष्टिकोणमा नै परिवर्तन आएको छ,’ उनले लेखेका छन् ।
प्रदीपले जुम्लामा बस्दा र त्यहाँको लवज सिक्दाको कुरालाई पनि स्मरण गरेका छन् । ‘एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै, पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरु समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौँ दिनहरु बिताएको छु । सोही क्रममा एउटा कलाकारले ‘पात्र र कलाकारिता’ लाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेको छु ।’ उनले लेखेका छन् ।
दिनेश राउत निर्देशित फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेनु योगीलगायतका कलाकारको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:४७
प्रतिक्रिया दिनुहोस्