हङकङ यस वर्ष पनि विश्वको सबैभन्दा महँगो शहर
काठमाडौँ– हङकङ यस वर्ष पनि विश्वको सबैभन्दा महँगो शहर बनेको छ । हङकङ सबैभन्दा महँगो शहरको सूचीमा लगातार तेस्रो वर्ष पनि परेको हो ।
ईसीए इन्टरनेशनलले सार्वजनिक गरेको वरीयताअनुसार हङकङ बाहिरबाट आउनेका लागि लगातार तेस्रो वर्ष विश्वको महँगो शहर बनेको हो।
निकै कडा किसिमका कोरोना महामारी नियन्त्रणको नीतिको तथा बसोवासको खर्च बढेसँगै मानिशहरुले हङकङको विकल्पको रुपमा सिंगापुर दुबईलाई रोज्न थालेका छन् ।
सर्वेक्षण अनुसार बसोवासका लागि सबैभन्दा महँगा शीर्ष पाँच शहरमा न्युयोर्क, जेनेभा, लण्डन र टोकियो अटाएका छन्।
विश्वका सबैभन्दा महँगा १० शहरमा एसियाका पाँच शहर परेका छन्। एसियाबाट हङकङ र टोकियोका साथै संघाई, ग्वान्झोउ र सोल पनि शीर्ष १० शहरभित्र अटाएका छन्।
पछिल्लो एक वर्षमा विश्वका अन्य शहरको तुलनामा हङकङको मुद्रास्फीतिदर कम रहे पनि यो शहर विश्वको सबैभन्दा महँगो शहरको रुपमा कायम रहेको हो। यद्यपि यो अवधिमा निरन्तर हङकङ डलर अन्य मुद्राभन्दा बलियो रहेकाले पनि हङकङ विश्वको महँगो शहर बनेको हो।
पछिल्लो समय एसियाको अर्को शहर सिंगापुरमा पनि दैनिक जीवनयापनको खर्च निकै बढेको छ। सिंगापुर सूचीको १३ औं स्थानमा छ।