दुई रियालिटी शोका २४ प्रतिष्पर्धी नेपालमा
काठमाडौं– इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्रा फाउन्डेशन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए (सिजन २)को उत्कृष्ट २४ मा परेका प्रतिष्पर्धीहरु नेपाल आएका छन् ।
इन्ट्रा फाउन्डेशन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिलाई मंगलबार त्रिभूवन विमानस्थलमा स्वागत गरियो । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भैरहेको यो शोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।
अमेरिका र क्यानडामा रहेका नेपालीभाषीहरुले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’को उत्कृष्ट १२ मा शितल शर्मा, मुना लकान्द्री, बाबु खालिङ, करण तामाङ, प्रेम आङ्देम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् ।
यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।
यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुवै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियाले जानकारी दिए ।
‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, संचिता लुइटेल र नरमान राई छन् । दुबै कार्यक्रमको संचालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:०१
प्रतिक्रिया दिनुहोस्