राधाको कृति खलंगामा हमलामाथि फिल्म
काठमाडौं– ‘मदन पुरस्कार’ प्राप्त राधा पौडेलको उपन्यास ‘खलंगामा हमला’ माथि फिल्म निर्माण भएको छ । निर्देशक विनोद विष्टले राधाको कृतिलाई फिल्ममा उतार्न लागेका हुन् । निर्देशक विष्टले यसअघि नै ‘मदन पुरस्कार’ प्राप्त साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडाकी फूल’माथि फिल्म बनाइसकेका छन् ।
२०५९ कार्तिक २८ गते माओवादीले जुम्लाको खलंगामा आक्रमण हुँदा त्यो समयमा त्यहाँ राधा नर्सका रुपमा कार्यरत थिइन् । त्यही समयको सेरोफेरोलाई उनले पुस्तकमा उतारेकी थिइन् ।
‘अहिले हामी सुरुवाती अवस्थामा छौं । स्क्रिप्टलाई फाइनल गर्न करिब ९ महिना लाग्नेछ । लेखिकासँगै बसेर स्क्रिप्ट फाइनल गरेपछि हामी कलाकार र प्राविधिक छनोट गर्नेछौं’, निर्देशक विष्टले भने ।
निर्देशक विष्टले पुस्तकमा आधारित रहेर फिल्म बनाउदा त्यहाँबाट बाहिर जान नसकिने उल्लेख गर्दै पुस्तक र पात्रलाई न्याय दिनेमा आफू विश्वस्त रहेको बताए । ‘मैले जीवन काँडाकि फूल बनाइसकेपछि धेरै पुस्तक पढें । तर खलंगामा हमलाले मेरो मन छोयो । त्यसपछि राधा पौडेलसँग लामो प्रयासपछि उहाँसँग सम्पर्क भयो । अनि मैले आफ्नो चाहना राखेपछि उहाँले स्वीकृति दिनुभयो’, विष्टले भने ।
राधाले आफूले फिल्म ‘जीवन काँडाकि फूल’ हेरेपछि विनोदको कामप्रति विश्वास बढेको बताइन् । ‘त्यो फिल्मबाट म प्रभावित भएको थिएँ । उहाँले नै मेरो कृतिमा फिल्म बनाउने भनेपछि मैले हुन्नँ भन्न सकिनँ’, राधाले भनिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:४६
प्रतिक्रिया दिनुहोस्