Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलेसियामाथि नेपालको २५ रनको जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियामाथि जित निकालेको छ। बिहीबार नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई २५ रनले हराएको हो। नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो। मलेसियाकी कप्तान एल्सा हन्टरले ३२ बलमा ३ चौका सहित सर्वाधिक २८ रन बनाइन्। मलेसियाका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा नेपालले सहजै जित हात पार्‍यो। नेपालकी कृतिका मरासिनीले २ तथा मनिषाकुमारी उपाध्यायले १ विकेट लिइन्। त्यसअघि युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनायो। नेपालका लागि ओपनर अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन्। उनले ५४ बलमा २ चौकासहित ३३ रन बनाएकी हुन्। यता, आश्मा पुलामी मगर ३८ बलमा १ चौकासहित २६ रन बनाएर आउट भइन्। अनु कडायत र सनु राजवंशी ३/३ रनमा आउट भइन्। मलेसियाकी नुर डानिया अब्दुल सामदले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। एलिस हुन्तरले एक विकेट लिइन्। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यस्तै, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो। जसक्रममा नेपाल युएईसँग ८ रनमा अलआउट भएको थियो। तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको नेपाल चौंथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो। ६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकप खेल्न पाउनेछन्। आज थाइल्यान्ड र युएईबीच प्रतिस्पर्धा हुँदैछ। विजेता टोलीले विश्वकपमा स्थान बनाउने छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१०
प्रतिक्रिया दिनुहोस्