चिसो मान्छेले स्वस्तिमालाई दिएको खुशी
काठमाडौं–अभिनेत्री स्वस्तिमा खड्का आगामी असार ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चिसो मान्छे’मा बाजुराकी एक महिलाको भूमिकामा दर्शकमाझ आउदैछिन् । फिल्म ‘बुलबुल’मा ट्याम्पो चालकको भूमिकामा अभिनय गर्नु अघि स्वस्तिमाले ग्ल्यामर, थ्रिलर, कमेडी भावका फिल्ममा आफ्नो दमदार अभिनय देखाइसकेकी छन् । तर ‘चिसो मान्छे’मा उनले निभाएको भूमिका उनका लागि विशेष छ ।
‘सुदुरपश्चिमको पात्रको भूमिकामा अभिनय गर्ने मेरो रहर यही फिल्मबाट पूरा भएको छ । मलाई सुदुरपश्चिमको क्यारेक्टर गर्न एकदमै मन थियो । मलाई चरित्रका लागि स्थानीय भाषा सिक्नु महत्वपूर्ण कुरा थियो । यसमा पत्रकार डिबी खड्काले ठूलो सहयोग गर्नुभयो’, स्वस्तिमाले भनिन्, ‘बाजुरामा तल्लो र माथिल्लो गाउँकै भाषा फरक रहेछ । त्यसकारण पनि मलाई केही चुनौती थियो ।’
स्वस्तिमाका अनुसार उनले फिल्मकै लागि बाजुराको डकुमेन्ट्री मात्र हेरिनन्, स्थानीय पहिरन पनि मगाएर लगाइन् ।
निर्देशक दीपेन्द्र के खनालले फिल्मको ट्रेलरमा देखिएको विषयमात्र फिल्मका ेकथा नभएको दाबी गरे । उनले कोभिडको समयमा खिचिएको फिल्म भएकाले आफ्ना लागि कथावस्तु र कलाकारहरुको अभिनयले फिल्म विशेष बनेको बताए ।
अभिनेता देशभक्त खनालले ‘चिसो मान्छे’ नेपाली माटो सुहाउँदो फिल्म भएको बताए । उनले आफूलाई नेपाली माटोको बासना आउने खालको फिल्ममा अभिनय गर्ने रहर ‘चिसो मान्छे’ले पुरा गरेको खुलाए ।
अभिनेता अर्पण थापाले ‘चिसो मान्छे’ ले चिसो मान्छे र चिस्याइएको मान्छेको कथा भन्ने जनाए । निर्मात्री शर्मिला पाण्डेले फिल्म हेरेर आफैं छक्क परेको बताइन् ।
डिएस डिजीटलको ब्यानरमा बनेको फिल्ममा निर्देशक खनालकै लेखन र छायाँकन, संगीत सुवास भुषाल र सम्पादन दीर्घ खड्काको रहेको छ भने देशभक्त, अर्पण र स्वस्तिमाका साथमा आशान्त शर्मा, प्रभाकार न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी, संजोग रसाईली, पुष्पा अवस्थी, सृष्टी आचार्य, विकास खनाललगायतले अभिनय गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्