राजेश हमालः जोखिम मोलेर जन्मेको र लगनले हुर्केको प्रतिभा
काठमाडौँ–अभिनेता राजेश हमालले बिहीबार आफ्नो जन्मदिन मनाए । कतिऔँ जन्मदिन भन्ने चाहिँ उनी स्वयम र उनका परिवारका सदस्यलाई मात्र थाहा छ । उनले वास्तविक उमेर कहिल्यै सार्वजनिक गर्न चाहेनन् । निजी कुरा सार्वजनिक गर्न नचाहनु उनको अधिकार हो । उमेरको प्रश्न गर्नेलाई उनको तयारी उत्तर हुन्छ– कि त ‘२१’ वा ‘२५’ वर्ष । नेपाली चलचित्र क्षेत्रमा झण्डै ३० वर्ष बिताइसकेका हमालले आफ्नो उमेरलाई सार्वजनिक रुपमा ३० वर्ष पनि पुर्याउन चाहँदैनन् ।
राजेश नेपाली चलचित्र क्षेत्रमा एक बौद्धिक र प्रष्टवक्ताका रुपमा चिनिन्छन् । उनी आफ्नो कारणले खासै विवादमा आएनन्, बरु उनको विषयमा अन्य फिल्मकर्मीले निकालेको विवादले सधैं चर्चामा भने रहिरहे । उनलाई दिइएको ‘महानायक’ को उपाधि पनि उनले नभएर अरुले नै दिएका हुन् ।
बुबा कुटनीतिक पृष्ठभूमिका भएका कारण उनको शिक्षा देश विदेशमा चल्यो । पाकिस्तान, रुसलगायत देशमा पढे । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे । उनी आउँदा ‘चलचित्र क्षेत्र पढेलेखेकाहरुका लागि होइन’ भन्ने आम मान्यता थियो । अरुको त के कुरा देश देशावर बुझेका उनका बुबा पनि छोरालाई ‘नायक’ वा ‘महानायक’कै रुपमा पनि देख्न चाहँदैन थिए । उनीभित्र यही क्षेत्रमा लाग्ने हुटहुटी यति थियो कि उनले बुबा रोज्ने कि अभिनय भन्ने जिन्दगीको सम्भवतः सर्वाधिक कठोर प्रश्नमा बुबाको साटो अभिनयलाई रोजे । यसो गर्नुका पछि बुबाको माया कम भएर होइन, केही वर्षमा बुबालाई ‘कन्भिन्स’ गराउँछु भन्ने अठोट थियो । तर उनले सोचेजस्तो भएन । आफ्नो निर्णय सही थियो भनेर उनले बुबालाई सम्झाउने समय नै पाएनन् । बाबु छोराको भेट र बोलचाल छुटेको केही समयपछि बुबा बिते । जुन कुरा सम्झँदा अहिले पनि उनका आँखा टिलपिलाउछन् । जिन्दगीको सबैभन्दा विस्मयको क्षण त्यसैलाई मान्छन् राजेश ।
संगीतकार, गीतकार तथा गायक शम्भुजित बाँस्कोटा राजेशलाई ‘राजु’ नामले चिन्छन् । राजेश र शम्भुजित सँगै पढेनन्, बसेनन् । राजेश कपुरधारामा बस्दा शम्भुजितको बसाई थलो पानीपोखरी थियो । शम्भुजितले भानुभक्त स्कुलबाट शिक्षा लिइरहँदा राजेश सेन्ट जेभियर्स स्कुलमा पढ्थे ।
‘मैले भेट्दादेखि नै उनी सरल र सुशील थिए । उनको बानी मलाई मनपथ्र्यो । उनका दिदीबहिनीहरु डाक्टर छन् । दिदीबहिनीहरुजस्तै उनका मामाहरु वसन्तजंग रायमाझी, दीपक रायमाझी संगीतप्रति झुकाव राख्थे । आमामा पनि संगीतप्रति छाप थियो’,शम्भुजित भन्छन्, ‘हाम्रो उमेर १० देखि १४ वर्षको हुँदादेखिनै एकअर्कालाई चिन्थ्यौं । तर उनका बुवा कुटनीतिज्ञ भएकाले उनी रुसको मस्को गए । पछि मस्कोबाट फर्किएपछि अभिनयमा आएको थाहा पाएँ ।’
शम्भुजितले नेपाल प्रज्ञा प्रतिष्ठानमै कार्यरत रहँदा पार्ट टाइमका रुपमा बागबजारमा वसन्त चौधरीलगायतसँग मिलेर ‘ग्रुप ३’ नामक स्टुडियो खोलेका थिए । यो स्टुडियोमा ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले एउटा फोटो एल्बम ल्याएर शम्भुजितलाई दिए । एल्बम पल्टाउदै जाँदा उनले राजेशको तस्वीर देखे । त्यो तस्वीर सम्भुजितले आफ्नो ब्रिफकेसमा राखे ।
‘फिल्म युगदेखि युगसम्मको गीत रेकर्ड गराउन निर्माता छविराज ओझा र म मुम्बई गएका थियौं । नेपाल वायुसेवा निगमको विमानबाट मुम्बई जाँदै गर्दा मैले ब्रिफकेसबाट राजेशको फोटो निकालेर छविजीलाई दिएँ’, शम्भुजित सम्झन्छन्, ‘राजेश त्यसबेला राजुबाट राजेश बनिसकेका थिए । राजेशलाई छविले चिनेनन् तर उनको तस्वीर मनपराए । त्यतिबेला युगदेखि युगसम्ममा प्रकाश अधिकारी र रवीन्द्र खड्कालाई लिने निश्चित भइसकेको थियो । त्यही तस्बिर हेरेपछि छविजी राजेशलाई नै नायकका रुपमा लिन सहमत हुनुभयो ।’
शम्भुजित कसैप्रति पनि रिस, द्वेष नराख्ने राजेशको बानीबाट प्रभावित छन् । ‘मेरो बुझाईमा राजेश हमाल निरन्तर बगिरहने सागर हो’उनले भने ।
राजेशसँग द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको मित्रता ‘युगदेखि युगसम्म’बाट नै भएको हो । राजेन्द्रको राजेशजत्तिकै उनको परिवारसँग पनि सुमधुर सम्बन्ध थियो । ‘काम गर्दा कहिलेकाहीँ खटपट भयो होला, तर हामी दुवैजना एकअर्काप्रति कहिल्यै नकारात्मक बनेनौं’, राजेन्द्र भन्छन्, ‘ऊ राम्रो मान्छे हो । ऊसँग जोडिएर कुनै विवाद आयो भने उसकै लागि म जहिल्यै पनि अगाडि सरेर बोल्ने गर्छु ।’
राजेन्द्रले फिल्ममा आफ्नो एक्सनप्रति राजेश जहिल्यै डराउने गरेको खुलाए । ‘फिल्ममा मेरो एक्सन दृश्य छ भने राजेश बिहान जिममा पुगेर आउँथ्यो । किनकी राजेन्द्रले एक्सनमा दिनभर समय लगाउँछ भन्ने उसलाई थाहा थियो’, राजेन्द्र हाँस्दै भन्छन्, ‘एक्सन सयमा सय प्रतिशत नै हुँदैन नि । त्यही कारण राजेन्द्रले धेरै काम लगाउँछ र उसले एक्सनमा ‘गोरु जोताई काम गराउछ’ भनेर मसँग एक्सन गर्न डराउँथ्यो ।’
राजेशलाई गुणस्तरीय फिल्मभन्दा पनि परिमाणको संख्यामा चलचित्र खेल्ने गरेको आरोप लाग्छ । उनले अभिनय गरेका चलचित्रको संख्याले यो दाबीलाई सही हो झैँ लाग्छ गराउछ पनि । उनले तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
राजेशको परिमाणमुखी अभिनयलाई सकारात्मक रुपमा लिने अभिनेता तथा निर्देशक नीर शाह पनि यो कुरामा सहमत छन् तर त्यो गलत नभएको उनको जिकिर छ । ‘उहाँले आवश्यकताभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ । मैले उहाँलाई बेला बेलामा भनेको पनि छु । त्यो समयमा संख्यात्मक दृष्टिबाट नेपाली फिल्मलाई हुर्काउनु पनि थियो । मैले पनि कुन र कस्तो टिम नभनी धेरै फिल्ममा काम गरेको छु, किनकी हामीलाई जताततै छाएर नेपाली फिल्मको बजार सिर्जना गर्नुपर्ने अवस्था थियो । उद्योगलाई जोगाउनकै लागि उहाँले त्यसो गर्नुभएको हो ।’
नीर राजेशको अध्ययनशिलता, गम्भीरता र ठट्यौलो शैलीबाट प्रभावित छन् । नीरका अनुसार राजेश कुनै पनि विषयमा प्रवेश गरिसकेपछि त्यसको गहिराईसम्म पुगेर ज्ञान हासिल गर्ने स्वभावका छन् । नीरको बुझाईमा एउटा कलाकारमा चाहिने गम्भीरताको आवश्यकता राजेशमा प्रशस्त छ ।
धेरै फिल्ममा राजेशसँग सहकार्य गरेपनि नीरले राजेशलाई नजिकबाट चिन्ने मौका ‘वसन्ती’बाट पाएका हुन् । ‘उहाँ वसन्तीको सेटमा आउँदा प्रायः थकित भएर आउनुहुन्थ्यो । किनकी त्यो बेला उहाँ दैनिक दुई तीनवटा फिल्मको सुटिङ गर्नुहुन्थ्यो । कतिपय अवस्थामा उहाँ साँच्चै थकित भएर आउँदा मैले सुटिङ रोकेको पनि छु’ क्यानडा नेपालसँगको कुराकानीमा नीरले भने ।
राजेशसँग धेरै फिल्ममा स्क्रिन सेयर गर्ने अभिनेत्रीमा करिश्मा मानन्धर पर्छिन् । यो जोडीले ३० वटाको हाराहारीमा चलचित्रमा अभिनय गरेका छन् । राजेश र करिष्माको जोडी एक समय नेपाली सिनेजगतको सर्वाधिक रुचाइएको जोडी पनि थियो । करिश्मा राजेशलाई राम्रो ‘को–स्टार’ मान्छिन् । ‘उहाँसँग काम गर्न सजिलो छ, उहाँ जेन्टलमेन हुनुहुन्छ’, करिश्मा मान्छिन्, ‘काममा कोअपरेट गर्नुहुन्छ । उहाँको सुधार्नुपर्ने बानी खासै मैले केही देख्दिनँ ।’