विश्वकप क्रिकेट लिग टू: नेपाल र अमेरिकाको खेल रोमाञ्चक बराबरी
काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टू अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको छ । आइतबार बिहान सकिएको खेलमा २७५ रनको लक्ष्य पाएका अमेरिकाले ६ विकेट गुमाएर २७४ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा ६ रन मात्र चाहिएको भएपनि अमेरिकी ब्याटरले ५ रन मात्र जोड्न सके । खेल रोमाञ्चक बराबरीमा सकिएको हो । यससँगै दुबै देशले अंक बाँडेका छन् । अन्तिम ओभरमा बलिङ गर्न आएका आदिल आलमले अन्तिम २ बलमा २ रन लिँदै अमेरिकाले जितिसकेको खेल बराबरीमा पुर्याएका हुन् ।
ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा एक एक रन दिएका आदिलले चौथो बल नो बल फालेका थिए । त्यसपछि फ्रि हिटको बलमा १ रन जोडेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछिका दुबै बलमा २ विकेट लिंदै आदिलले खेल बराबरीमा पुर्याए। उनले समग्रमा ३ विकेट लिए । यस्तै नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिए ।
अमेरिकाका स्टेभेन टेलरले ११४ र मोनांक पटेलले ८५ रन बनाएका थिए ।
अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २७४ रन बनाएको थियो ।
नेपालका लागि आशिफ सेखले ६१, रोहितकुमार पौडेलले ६२ र देव खनालले ५४ रनको योगदान गरे । यस्तै, डेब्यू खेलाडी आदिल आलमले ३४ रन बनाए ।
नेपाल सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । नेपालले ओमान र अमेरिकासँग अझै एक एक खेल खेल्नेछ ।