Nic Ad Nic Ad
Nic Ad Nic Ad

जङ्गली चरा कसरी बन्यो घरपालुवा कुखुरा ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– तपाईं हामीले ‘चिकेन बिरयानी’देखि ‘खाओ मुन गै’ खाइरहेका छौँ । कुखुराको मासु (चिकेन) र भात विश्वभर प्रख्यात छ । एक नयाँ अध्ययनअनुसार चामलबिनाको कुखुराको अस्तित्व कहिल्यै नहुन पनि सक्छ ।

कुखुरालाई वैज्ञानिकहरूले सोचेभन्दा हजारौं वर्षपछि घरपालुवा बनाइएको हुनसक्छ। थाइल्यान्ड वा दक्षिण पूर्वी एसिया नजिकैको जंगली रातो चराको दायराभित्र मानिसले धान खेती गर्न थालेपछि मात्रै कुखुरापालन गर्न थालेको हुनसक्ने साउथ ह्याम्प्टन विश्वविद्यालयका पुरातत्वविद् डेल सर्जेन्टसन बताउँछिन् । उनी भन्छिन्, ‘कुखुराको उत्पत्तिको बारेमा धेरै मिथकहरू छन् ।’

चार्ल्स डार्विनले कुखुराहरू जङ्गली रातो चराहरू (एक रंगीन उष्ण कटिबंधीय चरा) बाट आएका बताएका छन् । किनभने यी दुईमा धेरै समानता देखिन्छ । तर उनले यसलाई प्रमाणित गर्न सकेनन् । जङ्गली चराका पाँच प्रजाति भारतदेखि उत्तरी चीनसम्म पाइन्छ, र साना कुखुराका हड्डीहरू जीवाश्ममा भेटिनु दुर्लभ हो ।

सन् २०२० मा ८६३ जीवित कुखुराका जिनहरूको अध्ययनले उनीहरुको ‘डीएनए’ जंगली चरासँग मिल्दो देखाएकाे छ । त्यसैले पनि अहिलेको कुखुरा जङ्गली चराबाट आएको हुन सक्ने धेरै अनुमान लगाउन सकिन्छ ।

अन्वेषकहरूले उत्तरी चीन र पाकिस्तानमा ८ हजार वर्षदेखि १० हजार वर्ष पहिलेको प्रारम्भिक कुखुराको रूपमा जीवाश्मको अध्ययन गरेका छन् ।

आनुवंशिक अध्ययनका पहिलो लेखक, क्यालिफोर्निया विश्वविद्यालयका आनुवंशिकविद् मिङ–शानवाङ भन्छन्, ‘अनुसन्धानकर्ताले कुखुराहरुको जीवाश्ममा ठ्याकै कुखुराको उत्पत्ति कसरी भयो भनेर डीएनए प्राप्त भएको छैन ।’

त्यसैले म्युनिखको लुड विग म्याक्सि मिलियन युनिभर्सिटीका प्यालेओ–एनाटोमिस्टजोरिस पीटर्सले अक्सफोर्ड विश्वविद्यालयका जैविक पुरातत्वविद् ग्रेगर लार्सनसँग मिलेर कुखुराको अध्ययन गरेका छन् । यो जोडीले संसारभरका ६०० भन्दाबढी पुरातात्विक स्थलबाट कुखुराको हड्डी, तिनीहरूको मिति र तिनीहरूमा भएका अभिलेखहरूको व्यापक पुनर्मूल्याङ्कन सुरु गरेका छन् । एउटा छुट्टै अध्ययनमा, उक्त समूहले पश्चिमी यूरेशिया र उत्तरी अफ्रिकामा फेला परेको कुखुराको हड्डीलाई प्रत्यक्ष रूपमा अध्ययन गरेको थियो ।

तिनीहरूले सम्भवतः कुखुराको सबैभन्दा पुराना हड्डीहरू मध्य थाइल्यान्डको बानन्बाट फेला पारेका थिए । जहाँ किसानले ३ हजार २५० देखि ३ हजार ६५० वर्ष पहिले धान उब्जाउने गरेको भनेर उनीहरुले नेशनल एकेडेमी अफ साइन्सेजमा रिपोर्ट प्रकाशित गरेका छन् ।

यी चराहरू जंगली चराको सट्टा घरपालुवा कुखुरा थिए भन्ने बलियो प्रमाण हो । अन्वेषकहरूले धानको बीउले जंगली चरालाई धानखेततर्फ आकर्षित गरेको हुन सक्ने अनुमान गरेका छन् । ती चराले मानव बस्ती नजिकै झाँडीमा गुँड बनाएर बस्न थालेको र मानिससँगको सम्बन्धमा बानी पर्न थालेको अध्ययन रिपोर्टमा उल्लेख गरेका छन् ।

एसियाभरि मध्यपूर्व र अफ्रिकामा कुखुराको हड्डी पत्ता लगाउने क्रममा तिनीहरूले सुख्खा धान खेती, कोदो र अन्य अन्नको फैलावट र कुखुराको उपस्थिति सम्बन्धमा एक तथ्य फेला पारेका थिए ।

कुखुराहरू लगभग ३ हजार वर्ष पहिले उत्तरी चीन र भारतमा देखा परेको पाइएको छ । यस्तै, २८ सय वर्ष पहिले मध्यपूर्व र उत्तरपूर्वी अफ्रिकामा पनि कुखुराको बसोबास रहेको पाइएको थियो । तथापि, वास्तवमै कुखुराको उत्पतिको बारेमा एकिन तथ्याङ्क भने अझै फेला पर्न सकेको छैन । कुखुराको सानो हड्डी हुनाले त्यसको जिवाश्म नभेटिने र भेटिए पनि कुन समयको हो भनेर पत्ता लगाउन कठिन हुने गरेको छ ।

कुखुराहरू पहिलो पटक युरोपमा कहिले प्रवेश गरे भन्ने कुरा पत्ता लगाउन टोलीका सदस्यहरूले युरोप र एसियाका प्रस्तावित प्रारम्भिक २३ प्रजातिका कुखुराका हड्डीहरू पुनः अध्ययन गरेका थिए । युरोपमा पहिलो कुखुरा २८ सय वर्ष पहिले इटालीको एट्रस्कन साइटमा फेला परेको थियो ।

कुखुराहरू उत्तरबाट बेलायत (रोमसहित), स्क्यान्डिनेभिया र आइसल्याण्डसम्म फैलिन थप एक हजार वर्ष लागेको पाइएको छ । दुवै अध्ययनमा संलग्न कार्डिफ विश्वविद्यालयका पुरातत्वविद् जुलिया बेस्ट भन्छिन्, ‘उपोष्ण कटिबंधीय चराहरूले चिसो मौसममा अनुकूलन गर्नु पर्ने हुन सक्छ ।’

होक्काइडो विश्वविद्यालयका चिडियाखानाविद् मासाकी इडा भन्छन्, ‘घरेलु कुखुराको फैलावट विगतमा अपेक्षा गरिएको भन्दा फरक छ ।’ तैपनि, इडा भन्छन्, ‘थाइल्याण्डमा पाइएका हड्डीहरू निश्चित रूपमा घरपालुवा कुखुरा हुन् ।’ जंगली कुखुराहरू मानवसँग गाडिएका होइनन् भनेर सुनिश्चित गर्न पुनः अनुसन्धान गर्नु पर्ने उनी बताउँछन् । उनी दक्षिण पश्चिम एसियाका अन्य क्षेत्रहरूमा पनि अध्ययन गर्न चाहन्छन् । यूरेशियाभरि धान र कोदोको खेती फैलिएकोले कुखुरालाई कहाँ र कसरी पालिएको देखाउनको लागि दक्षिण पश्चिम एसियाबीचको सबन्ध जोड्नु पर्ने हुन्छ ।

यद्यपि, कुखुरालाई अन्य जनावरहरू भन्दा पछि घरपालुवा बनाइएको थियो । ‘तिनीहरू पृथ्वीमा सबैभन्दा सफल घरपालुवा प्रजाति भएका छन् ।,’ लार्सनले भने । आज संसारभरि ८० खर्ब कुखुरा छन् ।

मानिसहरू कसरी प्राकृतिक संसारसँग सम्बन्धित छन् भन्ने बुझ्नको लागि मानिस र कुखुराको सम्बन्धबाट थाहा हुन्छ ।

(साइन्स डटओआरजीमा प्रकाशित यो लेखलाई एकराज बास्तोलाले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्