केकी भन्छिन्–सिल्ली फोले संघर्षका दिन सम्झायो
काठमाडौं– आगामी असार ३१ गतेबाट रिलिज हुने फिल्म ‘सिल्ली फो’ले आइतबार पत्रकार सम्मेलन गर्दै फिल्मबारे जानकारी दिएको छ । कोभिड महामारी समयताका छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको निर्देशन छ ।
फिल्ममा अभिनेत्री केकी अधिकारी, राजाराम पौडेल, रवीन्द्र झा, धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बरबहादुर विष्ट, सौजन बोहोरा, जयमन विश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतका कलाकारको अभिनय छ ।
पत्रकारमाझ केकीले आफूले फिल्ममा संघर्षशिल युवतीको भूमिका निर्वाह गरेको बताइन् । ‘मैले यो फिल्ममा काम गर्दा आफ्नो संघर्षको दिन सम्झिएँ’, केकीले भनिन्, ‘कमेडी फ्लेभरको फिल्म भए पनि मेरो भूमिका संघर्षशिल युवतीको छ । पात्रको संघर्षले मलाई मेरो संघर्षको दिनहरु सम्झना गरायो । फिल्मले दर्शकलाई नयाँपन र नयाँ स्वाद दिनेछ ।’
निर्देशक सानेले आफूले पहिलोपटक कमेडी जनराको फिल्म निर्माण गरेकाले फिल्मबाट धेरै कुरा सिकेको खुलाए । ‘यो फिल्मले मलाई कमेडी जनरामा स्थापित गर्नेमा विश्वस्त छु । फिल्म कमेडी भए पनि यसले नेपाली समाजकै कथा बोकेको छ’, उनले भने ।
मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता छन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । फिल्मलाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:५७
प्रतिक्रिया दिनुहोस्