ठेकेदारको लापरबाहीले स्याङ्जाको आँधी खोला पुल ५ वर्षदेखि अलपत्र
स्याङ्जा- समयमै पुल निर्माण नहुँदा स्याङ्जाका बासिन्दालाई विपद्को सामना गर्नुपर्ने बाध्यता छ । २ वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने पुल ५ वर्षमा पनि नसकिँदा सास्ती थपिएको छ । जिल्लाको वालिङ र भीर कोट जोड्ने आँधी खोलामा निर्माण सुरु गरिएको मोटरेवल पुलका बाँधका कारण वालिङ ११ डौवाका बासिन्दा बर्षेनि त्रासमा बस्नुपरेको छ । यसबर्षको वर्षा सुरु हुँदै गर्दा त्रास अझ बढेको छ ।
रायमाझी क्याराभान कन्स्ट्रक्सन २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छाङ्छाङदी छतिवन पुल समयमै निर्माण नहुँदा आँधी खोला कटानको समस्या यस वर्ष पनि सुरु भएको छ । पुल निर्माण गर्दा लगाएको बाँध समयमै नखोलिँदा आँधी खोलामा आएको बाढीले वालिङ ११ डौवा फाँटको सिङ्गो बस्ती र खेतीयोग्य जमिनमा क्षति पुग्ने खतरा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
आँधी खोला कटानको समस्या समाधानका लागि स्थानीयले ठेकेदार कम्पनी, सडक विभाग र सम्बन्धित निकायसँग पटक पटक हार–गुहार गर्दा पनि सुनुवाइ नभएको स्थानीय बासिन्दा चन्द्र खाँण बताउँछन् । वर्षा याममा आँधी खोलाले स्वरूप परिवर्तन गरेमा आफूहरूको खेतीयोग्य जमिनमा करोडौँ मुल्को क्षति हुने निश्चित जस्तै रहेको र यसबाट मानवीय क्षति समेत हुन सक्ने उनको भनाइ छ । तोकिएको समयमा पुल निर्माण गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गरेर यहाँको बस्ती र खेतीयोग्य जमिन जोगाउन पनि सरकारले ध्यान दिनुपर्ने स्थानीय चोलाकान्त पौडेलले बताए ।
२०७५ साल कात्तिकमा तत्कालिन मन्त्रीहरू रघुवीर महासेठ र पद्मा अर्यालले पर्यटन प्रवर्द्धनका लागि भन्दै संयुक्त रूपमा पुलको शिलान्यास गरेका थिए । स्वरेक मैदानबाट उड्ने प्याराग्लाईडरका पारखी र पर्यटकलाई सहज रूपमा पुग्न तथा छोटो बाटोका लागि वालिङ र भीर कोट नगरपालिका जोड्ने गरी पुल बनाउन लागिएको हो ।
पुल निर्माण नहुँदा यस पटकको बर्षातमा आँधी खोलामा आउने बाढीले ठुलो क्षति गर्न सक्नेतर्फ वालिङ नगरपालिकाको ध्यानाकर्षण गराईएको वालिङ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष डण्डपानी पंगेनीले बताए । यस सम्बन्धमा नगरपालिकाभित्र रहेको विपद् व्यवस्थापन समितिमार्फत तत्काल समाधानका लागि पहल गर्ने तयारी रहेको उनको भनाइ छ ।
झन्डै १२ करोड रुपैयाँको लागतमा निर्माणाधीन मोटरेवल पुलको ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको पुल ५ वर्षसम्म निर्माण भई नसक्दा पनि अलपत्र पार्ने ठेकेदारलाई कारबाही नहुनु रहस्यमय भएको स्थानीय बासिन्दाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३०
प्रतिक्रिया दिनुहोस्