यसपटक उपाधि जितेर आउने कप्तान रुबिनाको अठोट
काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले मलेसियामा हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेर फर्कने बताएकी छिन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सञ्चारकर्मीसँग कप्तान रुबिनाले च्याम्पियनसिपको उपाधि जित्नु चुनौतीपूर्ण रहेपनि टिमलाई खाली हात फिर्ता नल्याउने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
नेपालको राष्ट्रिय महिला टिमले लामो समयदेखि ट्रफी ल्याउन नसकेको स्मरण गर्दै कप्तान क्षेत्रीले यस पटक टिमका सबै खेलाडीलाई केही गर्नु पर्छ भन्ने भावना रहेका र राम्रो तयारी भएकाले उपाधि जित्ने सम्भावना रहेको बताएकी हुन् । ‘लामो समय भयो महिला क्रिकेटमा ट्रफी ल्याउन सकेको छैन, त्यसको दुख हामीलाई लागेको छ, मलाई पनि राम्रो गर्नुपर्ने छ, कप्तान रुबिनाले भनिन्, यस पटक एकजना मात्र हैन सबैजना नेतृत्व गरेर खेल्छु भन्ने भावना देखिएको छ । त्यो पहिले कमी थियो ।’
यस पटक नेपाललाई उपाधि जित्ने र एसिया कप पुग्ने मौका रहेको उनले बताइन् ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले पनि यसपटक उपाधि जित्ने गरि तयारी भइरहेको बताएका छन् ।
यहि जुन १७ बाट सुरु हुने प्रतियोगितामा नेपाल हङकङ, कुवेत, भुटान र बहराइनसँगै समुह ‘बी’मा छ।
च्याम्पियनसिपको फाइनलमा पुग्ने दुई टिमले महिला टी–ट्वान्टी एसिया कप खेल्न पाउनेछन् ।
च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक महिला क्रिकेट टिमको घोषणा गरिसकेको छ । प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले प्रारम्भिक चरणमा १९ सदस्यीय टिम घोषणा गरेको छ ।
च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग जुन १७ मा खेल्नेछ भने दोस्रो खेलमा जुन १८ मा कुवेतसँग, तेस्रो खेल बहराइनसँग जुन २० मा र हङकङसँग जुन २१ मा खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १७:४४
प्रतिक्रिया दिनुहोस्