अर्थ मन्त्रालयद्वारा समाचारकाे खण्डन
काठमाडौँ– अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा असम्बन्धित ब्यक्ति हावी भएको भन्ने समाचारको खण्डन गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेको हो। सोमबार एक राष्ट्रिय दैनिकले आगामी आर्थिक बर्षको बजेटमा करको दर लगायत विषयमा अर्थ मन्त्री जनार्दन शर्माले एकजना पूर्व नायब सुब्बा र एकजना चार्टड एकाउन्टेन्ट भनिएका ब्यक्ति हावी भएको उनीहरूले भने अनुसार बजेट तयार गरिएको खबर प्रकाशित गरेको थियो ।
मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालले निकालेको विज्ञप्तिमा समाचार झुटो र भ्रमपूर्ण रहेको दाबी गरिएको हो । विज्ञप्तिमा समाचार प्रकाशित गर्दा सम्बन्धित ब्यक्ति र निकायको भनाई नराखि कपोलकल्पित रुपमा प्रकाशित गरिएको दाबी गरिएको छ ।
विज्ञप्तिमा राजस्व संकलन गर्ने करको दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्वन्धी प्रचचित कानुनलाई संशोधन गर्ने सम्वन्धमा अधिकारको परिधिभित्र रहेर गरिएको दाबी गरिएको छ।
चैत १ देखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्श–अन्तरक्रिया प्रारम्भ गरिएको भन्दै मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौदा समिति गठन भएको र सर्वसाधारणको प्रतिक्रिया र सुझाव फोनबाट संकलन गरिएको बताइएको छ।
समाचार प्रकाशित भएपछि सोमबारको संसद बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराई र महेश बस्नेतले बजेट निर्माण प्रकियामा अनधिकृत व्यक्तिको भूमिकाबारे आपत्ति जनाउँदै अर्थमन्त्रीको राजिनामा मागेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३१
प्रतिक्रिया दिनुहोस्