कमल एक्चै मगरको चलचित्र ‘डेसान’ प्रदर्शनको तयारीमा
काठमाडौँ– निर्देशक कमल एक्चै मगरको चलचित्र ‘डेसान’ प्रदर्शनको तयारीमा रहेको छ ।
निर्माणको सम्पूर्ण काम पूरा सकेर प्रदर्शनका लागि तयार भएको निर्माणपक्षले जनाएको हो । पर्फमिङ आर्ट क्रियशन प्रालिको ब्यानरमा निर्मित यस चलचित्रको प्रदर्शन मिति चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने निर्देशक मगरले जानकारी दिए । चलचित्र डेसानको वितरण जिम्मा रिच इन्टरटेनमेन्टले लिएको छ ।
‘डेसान’ मा नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, भोला सापकोटा, कविता आले, आरुषजंग सारु, प्रमिशा सारुलगायतका कलाकारको अभिनय रहेको छ । पर्फमिङ आर्ट क्रियशनकै निर्माण रहेको यस चलचित्रका कार्यकारी निर्माता कृशला मगर रहेकी छन् । यस चलचित्रको कथा राज थापामगरले लेखेका हुन् ।
चलचित्रलाई चक्र महर्जनले छायांकन गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । यस चलचित्रमा कोरियोग्राफी अजय स्याङ्तान, रंग संयोजन राजेन्द्र मोक्तान, मिक्सिङ मुकेश शाहको रहेको छ भने गीत राजु थापाको रहेको छ । यस चलचित्रमा निर्माण नियन्त्रकको रुपमा क्षतिज सुवेदीले काम गरेका छन् । चलचित्रको गीतमा संगीत हरि लम्सालको रहेको छ भने प्रविशा अधिकारी र प्रताव दासको स्वर रहेको छ ।
‘डेसान’ शब्द नेपालमा बसोबास गर्ने १ सय २५ जातिमध्येको मगर जातिको मगर भाषाबाट लिइएको निर्देशक मगरले जानकारी दिए । जसको शाब्दिक अर्थ महामारी रोग हुने उनले बताए । उनले उदाहरण दिँदै भने, ‘जस्तो : कोरोना भाइरस, हैजा, खुरेट, झाडा पखाला, आदि...। परापूर्व कालमा मगर जातिको बस्तीहरुमा यस्ता किसिमका महामारीको रुपमा फैलिने रोग आउँदा त्यसको निवारण र नियन्त्रणका निम्ति देवी–देवता पुकार्ने, पूजापाठ वा धुप–धुवार गर्ने परम्परा थियो । जसलाई ‘डेसान पूजा’ भनिन्थ्यो ।’
निमार्ण पक्षका अनुसार त्यही महामारीलाई पृष्ठभूमिमा राखेर समाजमा विकसित पछिल्लो घटनाक्रमलाई चलचित्रले प्रस्तुत गर्न खोजेको छ ।
यस चलचित्रका निर्देशक मगरले यसअघि चलचित्र ‘शीरफूल’ बाट निर्देशकका रुपमा डेब्यु गरेका हुन् । यसका साथै उनले दर्जनौँ म्युजिक भिडियो तथा डकुमेन्ट्रीमा निर्देशनका साथै सम्पादनको समेत काम गरिसकेका छन् ।
चलचित्र डेसानको प्रदर्शनको तयारीमा रहेका निर्देशक मगरले चाँडै अर्को चलचित्रको निर्देशन गर्न लागेको जानकारी दिए । नयाँ चलचित्र निर्देशनको तयारीमा रहेका उनले केही समयभित्रै छायांकनका लागि फ्लोरमा निस्कने बताए ।
नयाँ चलचित्रको नाम भने अहिले सार्वजनिक नगर्ने उनले बताए । उक्त चलचित्रका लागि नाम चलेका कलाकारहरुसँग छलफल भइरहेको र चलचित्रमा आबद्ध हुने कलाकार र चलचित्रको नाम चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले जानकारी दिए ।