ओमानमाथि नेपालको ७ विकेटको जित
काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा मैदानमा मंगलबार राती भएको खेलमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमै मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
जितसँगै नेपाल महत्वपूर्ण २ अंक थप्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यससँगै सिरिजको पहिलो खेलमा ब्यहोरेको १३ रनको हारको बदला पनि नेपालले लिएको छ ।
सामान्य लक्ष्य पछ्याउने क्रममा आसिफ शेखले ६२ र कुशल भुर्तेलले ५६ रनको योगदान गरेपछि जित सहज भएको थियो । रोहित पौडेल २६ र दिपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे भने देव खनालले १० रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलम १ सय ६३ रनमा अल आउट भएको थियो ।
नेपालका करण केसीले फेरि एकपटक पाँच विकेट लिएपछि ओमान सामान्य योगफलमा समेटियो । करणले ९ ओभरमा मात्र ३३ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेको छ । सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार राती अमेरिकासँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:४९
प्रतिक्रिया दिनुहोस्