Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकाशकी दिया लेख्छिन्–सीताप्रतिको मेरो लगाव र गर्व दुबै हो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–रंगकर्मी तथा अभिनेत्री दिया मास्केका लागि फिल्म ‘प्रकाश’ केही फरक छ । अर्थात् उनले सम्भवत पहिलोपटक यो फिल्ममा एक जुम्ली महिला ‘सीता’को चरित्रमा देखिँदैछिन् । फिल्मको सार्वजनिक टिजर र पोस्टरले पनि दियाको यो चरित्रलाई प्रष्ट्याएको छ । दियाले बुधबार सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा फिल्ममा आफ्नो फिल्मी चरित्र झल्कने एक पोस्टर शेयर गरेकी छन् । पोस्टमा उनले काँधमा हलो र जुवा बोकेका देख्न सकिन्छ । योसँगै उनले आफ्ना भावनालाई पनि पोखेकी छन् । ‘चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ । महिला पात्रहरु विस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, ‘चलचित्र न्यारेटिभ’को अभिन्न अंग बन्न थालेका छन्, जसको उदाहरण हो प्रकाश चलचित्रको प्रतिनिधि पात्र ‘सीता’ । दियाबाट सीता बनिरहँदा चलचित्रको छायांकनस्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महशुस भएन । गरिरहेको काम प्रति इमान्दार नहुनु भनेको पात्रलाइ गिज्याउनु हो भन्ने मलाई लाग्छ । आज प्रकाशको पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महशुस गर्दैछु, यो सीताप्रतिको मेरो लगाव र गर्व दुबै हो,’ उनले लेखेकी छन् । उनले अहिलेसम्मको फिल्म निर्माण शैलीलाई व्यंग्य पनि गरेकी छन् । ‘कथा छनोट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनोट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिलेकाहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतीत हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गछौं । प्रकाश को टिजर हेरेर मलाई धेरैले मिठो प्रतिक्रिया दिनु भएको छ । सिनेमामा आफ्नो काम लाई लिएर अहिले बोल्नु अलि हतारो होला । मात्र यति भन्छु– समय बदलिएको छ । र अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिका द्वारा सिनेमालाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरुलाई सिनेमा आख्यानमा स्थापित गर्न थलिएको महसुस गरेको छु ।’ उनले अगाडि लेखेकी छन् । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा छन् । फिल्ममा बाबुको सपना पुरा गर्न शिक्षक बन्न संघर्ष गरेको एक युवाको कथालाई समेटिएको छ । जुम्लामा छायांकन गरिएको फिल्ममा राजन खतिवडा, रानु योगी र प्रकाश घिमिरेको पनि अभिनय छ । फिल्म भदौ १० मा रिलिज हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्