आज चुरे दिवस : राष्ट्रपतिले दुधौलीमा वृक्षरोपण गर्ने
काठमाडौँ– आज आठौँ चुरे दिवस मनाइँदै छ । नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख बिरुवा रोपेर दिवस मनाउँदै छ । वृक्षरोपण अभियानको शुभारम्भ बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट गर्नेछिन् । देशभरका समितिका एकाइ तथा वन कार्यालयबाट पनि वृक्षरोपण हुने छ ।
असार महिनालाई वृक्षरोपण महिनाको रूपमा मनाउँदै असार महिनाभर कम्तिमा पाँच लाख वृक्षरोपण गरिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले जनाएको छ ।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भूभागको १२.७८ प्रतिशत क्षेत्रमा चुरे पहाड फैलिएको छ ।