Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै सांसदले उठाए प्रश्न

शुक्रबार, मंसिर ९, २०७९
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि जम्मा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सो जानकारी दिए ।  सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको मन्त्री रावलले बताए । यस्तै सुदूरपश्चिममा खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको हो । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन् । प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि एक अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरेको छ । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण तथा शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त बजेट विनियोजन भएको हो । प्रदेश सरकारले गतवर्ष गएको बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि समेत विशेष बजेट विनियोजन गरेको छ ।  गतवर्ष वर्षाले विभिन्न संरचनामा क्षति पु¥याएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निमार्ण एवम् पुनःस्थापना गरि पीडितहरूको संरक्षण र सम्भावित जोखिम न्यूनिकरणका गर्न ६९ लाख विनियोजन गरिएको मन्त्री रावलले बताए ।   पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवर्द्धक लागि ३ करोड बजेट विनियोजन गरेको छ । सरकारले उपलब्धि हुने गरी बजेट ल्याएको दावी गरे पनि सत्ता पक्षकै सांसदहरुले भने बजेटप्रति असन्तुष्टि जनाएका छन् । बजेटले प्रदेशका जनताको जीवनस्तर माथि नउकासिने दावी गर्दै टुक्रे योजनाले पुरानै प्रवृत्ति दोहोरिएको सत्ता पक्ष नेपाली कांग्रेसका सांसद भरत खड्काको दाबी छ ।  यस्तै प्रतिपक्षी दल नेकपा एमालेले पनि सरकारले हावादारी तरिकाले बजेट ल्याइएको आरोप लगाएको छ । घाटाको बजेट र सबै पुरानै कुराहरू समावेश भएको बजेट कुनै नौलो नभई विगतको बराबर पनि कार्यान्वयन हुने खालको बजेट नआएको विपक्षी दलको भनाई छ । बजेटले जनतालाई राहत दिने भन्दा पनि महँगी बढाउने मात्र भएको एमालेका सांसद लिलाधर भट्टको दाबी छ । सरकारले जनतालाई राहत हुने गरी र सुदूरपश्चिमको विकासमा योगदान दिने खालको बजेट भने पनि सत्ता पक्षकै सांसद र विपक्षीले बजेटमाथि प्रश्न उठाएका छन् । यति मात्रै नभई बिचौलियाहरूका मागमा होटेलको कोठाबाट बजेट आएको सांसदहरुले आरोप लगाएका छन् ।   
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५०
प्रतिक्रिया दिनुहोस्